न्यूज डेस्क | असार २६, २०८२ बिहिबार

रौतहट। मधेश प्रदेश सरकार मातहतका रौतहट जिल्लाका चार महत्वपूर्ण कार्यालयहरूको लेखा प्रमुखको जिम्मेवारी सम्हालिरहेका लेखा अधिकृत सुदिप गौतम यतिबेला चर्चा र प्रशंसाको केन्द्रमा छन्। जिल्लाका पूर्वाधार विकास कार्यालय, भू तथा जलाधार संरक्षण कार्यालय, पर्यटन विकास कार्यालय र डिभिजन वन कार्यालयको भुक्तानी कार्यलाई समयमै, निर्विवाद, पारदर्शी र कुशलतापूर्वक सम्पन्न गर्न सफल भएपछि उनको कामको व्यापक सराहना भइरहेको छ।


सरकारी निर्देशिका अनुसार असार मसान्त अर्थात असार २५ गतेभित्र सबै योजनाहरूको भुक्तानी कार्य सम्पन्न गर्नुपर्ने प्रावधान रहँदै आएको छ। यो कार्यान्वयन गर्न विशेषगरी असार महिनाको अन्त्यतिर अत्यधिक दबाब र चाप रहने भए पनि लेखा प्रमुख गौतमले कुनै झन्झट, ढिलाइ वा पूर्वाग्रह नराखी सबै पक्षलाई समेट्दै निष्पक्ष ढंगले जिम्मेवारी पुरा गरे।



उनले चारवटै कार्यालयहरूमा उपभोक्ता समिति, निर्माण व्यवसायी, सेवा प्रदायक लगायत सबै सरोकारवाला पक्षसँग समन्वय गरी भुक्तानी प्रक्रिया सहज बनाएका थिए। चाप र व्यस्तताबीच पनि सबै विवरणहरू छानबिन गरी लेखा परीक्षणको मापदण्ड अनुसार पेश गरिएको बिल र कागजातहरूलाई कुशलतापूर्वक व्यवस्थापन गरे।

सामाजिक सञ्जालहरूमा समेत लेखा प्रमुख गौतमको कार्यशैली र इमानदार प्रयासप्रति सकारात्मक टिप्पणीहरू आइरहेका छन्। स्थानीय बासिन्दा र कर्मचारीहरूबाट समेत खुलेर प्रशंसा प्राप्त गरिरहेका गौतम हाल रौतहटमा ‘दबाबभन्दा परिणाममा विश्वास राख्ने कर्मशील कर्मचारी’को रूपमा चिनिन थालेका छन्।



उनको कुशल प्रशासनिक नेतृत्व, सत्यनिष्ठा र व्यावसायिक निष्ठा उदाहरणीय रहेको र यस्ता कर्मचारीहरूको कार्यशैलीले सरकारी प्रणालीमा नागरिकको भरोसा अझ बढाउने विश्वास गरिएको छ।

यस उपलब्धिका लागि लेखा अधिकृत गौतमलाई धेरै सरोकारवाला निकाय र स्थानीय समुदायले बधाई तथा शुभकामना दिएका छन्। सरकारी सेवा प्रणालीमा सुधार र पारदर्शिताको चाहना राख्नेहरूप्रति उनले एउटा प्रेरणादायी सन्देश समेत दिएका छन्— "काम राम्रो गरियो भने चर्चा आफैं आउँछ, प्रचार गर्नु पर्दैन।" उनले बताए ।