न्यूज डेस्क | असार २६, २०८२ बिहिबार
गौर, रौतहट | रौतहटको माधवनारायण नगरपालिकाका दुई बालक बागमती नदीमा बगेर बेपत्ता भएको घटनालाई लिएर सामाजिक सञ्जालमा भ्रामक भिडियोहरू फैलन थालेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले एक विज्ञप्ति जारी गर्दै सत्य तथ्यबिना भ्रम फैलाउने कार्य नगर्न सबैलाई अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ कि माधवनारायण नगरपालिका–८ का दुई बालक, शिवजी कुमार पासवान र सुधीर कुमार पासवान, असार २१ गते दिउँसो करिब १२ बजे बागमती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका हुन्।
तर उक्त घटनालाई लिएर सामाजिक सञ्जालहरूमा ती बालकहरूलाई उद्दार गर्न सकिने अवस्थामा पनि "जानाजान बगाइएको" भनी प्रसारण गरिएको भिडियोहरूप्रति प्रशासनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “दाउरा टिप्न जाँदा बगाएको घटनामा भिडियोमा देखाइएका बालक शिवजी कुमार पासवानलाई सुरक्षित उद्दार गरिएको र अर्का बालक सुधीर पासवानलाई खोजी गर्ने कार्य जारी रहेको छ।”
प्रशासनले घटनाको अनुसन्धान जारी रहेको जनाउँदै त्यसबारे सत्य नतिजा आउनुअघि सामाजिक सञ्जाल तथा मिडियामा अपुष्ट र भ्रामक सामग्रीहरू प्रसारण नगर्न सबैलाई सचेत गराएको छ। साथै, उक्त घटनामा संलग्न व्यक्तिहरूको उद्दार प्रयासमा कुनै पनि प्रकारको लापरबाही नरहेको स्पष्ट गर्दै सार्वजनिक भावनामा आघात पुग्ने खालका गतिविधिबाट बच्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।