न्यूज डेस्क | साउन ७, २०८२ मंगलबार
रौतहट। नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा सोमबार रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ८ सन्तपुर बेतौनास्थित कोटिहोम परिसरमा वृक्षारोपण तथा विचार गोष्ठी कार्यक्रम सम्पन्न भएको छ।
नेपाली कांग्रेस रौतहट जिल्ला कार्यसमितिको आयोजनामा सम्पन्न कार्यक्रममा दर्जनौं प्रजातिका बिरुवाहरू रोपिएका छन्। कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री तथा कांग्रेस रौतहटका जिल्ला सभापति सुनिलकुमार यादवले महामानव वीपी कोइरालाले नेपालको मात्र होइन, भारतको स्वतन्त्रता आन्दोलनमा समेत ऐतिहासिक भूमिका निर्वाह गरेको स्मरण गर्दै कोइरालाको योगदान सदैव प्रेरणादायी रहने बताए।
“वीपी कोइराला शोषित, पीडित, वञ्चित वर्गको मुक्तिको संवाहक हुनुहुन्थ्यो। उहाँले देखाएको विचार र मार्गदर्शन आजको सन्दर्भमा अझ सान्दर्भिक बन्न गएको छ,” मन्त्री यादवले भने। उनले वर्तमान राजनीतिमा वीपीको राष्ट्रियता, लोकतन्त्र र समाजवादको मार्गलाई आत्मसात गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए।
कार्यक्रममा कांग्रेस रौतहटका जिल्ला सचिव मिथिलेश मिश्रले पार्टी सुदृढीकरणका लागि संगठनात्मक अनुशासन र विचारप्रति प्रतिबद्धता जरुरी रहेको बताए। “पार्टीको झण्डा मात्रै होइन, विचार र सिद्धान्त अनुसार चल्न सक्ने नेतृत्व आवश्यक छ,” उनले भने।
नेपाली कांग्रेस महासमिति सदस्य तथा जिल्ला कोषाध्यक्ष सरस्वती गिरीले कार्यक्रमको अवसरमा वीपी कोइरालाको तस्बिरमा माल्यार्पण गरिएको जानकारी दिँदै कोइरालाको नीति, दर्शन र बलिदान आज पनि समसामयिक रहेको बताइन्।
वि.सं. १९७१ भदौ २४ गते जन्मिएका वीपी कोइराला वि.सं. २०१५ सालको संसदीय चुनावपछि २०१६ जेठ १४ गते नेपालका पहिलो प्रजातान्त्रिक प्रधानमन्त्री बनेका थिए। २०३३ पुस १६ गते राष्ट्रिय मेलमिलापको सन्देशसहित स्वदेश फर्किएका कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो।
नेपाली कांग्रेसले प्रत्येक वर्ष साउन ६ गतेलाई “वीपी स्मृति दिवस” को रूपमा देशभर विविध कार्यक्रम आयोजना गरी मनाउँदै आएको छ।