न्यूज डेस्क | साउन ९, २०८२ बिहिबार

 नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ‘मिसन ०८४’को नेतृत्व पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताएका छन् ।


बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा पार्टी महासचिव पोखरेलले ‘मिसन ०८४’ को नेतृत्व अध्यक्ष ओलीले नै गर्नुपर्ने केन्द्रीय कमिटीका अधिकांश सदस्यको राय रहेको बताए ।



“केन्द्रीय कमिटीका अधिकांश सदस्यहरूको धारणा के रह्यो भने मिसन ०८४ को नेतृत्व गर्नका लागि सबैभन्दा उपयुक्त पात्र पार्टी अध्यक्ष केपी शर्मा ओली हुन् भन्ने रायले विधानलाई खण्डित गर्दैन । विधानले त हरेकलाई प्रतिस्पर्धाको अधिकार दिएकै छ । हामी विधानका परिप्रेक्ष्यमा छलफल गर्दैछौँ । प्रतिस्पर्धालाई निषेध गरेका छैनौँ ।” एमालेले प्रतिस्पर्धाको राजनीतिलाई निषेध नगरेको उनको जिकिर छ ।