न्यूज डेस्क | साउन ९, २०८२ बिहिबार
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई औकातमा बस्न चेतावनी दिएका छन् ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद खतिवडाले जनताले निर्वाचित गरेको सर्वोच्च पदमा बसेर भण्डारी एमालेको राजनीतिमा फर्किन लागेको निर्णयको विरोध गरेका हुन् । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका खतिवडाले पूर्वराष्ट्रपति भण्डारीलाई वडाध्यक्ष नबन्न सुझाव दिए ।
खतिवडाले भने, ‘सर्वोच्च पदमा पुगेका मान्छेहरू अहिले सर्वोच्च पद छोडेर वडाध्यक्षतिर ध्यान दिइरहेको देख्न पाइएको छ । सरकारको ध्यान पुगोस् । सर्वोच्च जनताले निर्वाचित गर्ने सर्वोच्च पदमा पुगेको मान्छे वडाध्यक्ष फेरि नियुक्ति हुनु हुँदैन ।’
भण्डारीले एमालेको सदस्यता नवीकरण गर्न निवेदन दिएकी छिन् । भण्डारीले एमालेको सदस्यता नवीकरण भएको बताइसकेकी छिन् । यद्यपि, एमालेको केन्द्रीय कमिटीले भण्डारीलाई सम्मानित पदमा बसेको व्यक्ति सम्मानित पदमा नै बस्न सुझाव दिएको छ । एमालेले भण्डारीलाई राजनीतिमा नफर्किन चेतावनी दिएका बेला कांग्रेसका सांसद खतिवडाले पनि भण्डारीलाई राजनीतिमा नआउन भनेका छन् ।
यसबीच, सांसद खतिवडाले तराईका जिल्लाहरूमा खानेपानीको समस्या रहेको भन्दै खानेपानीको समस्या समाधान गर्न आग्रह गरेका छन् । खतिवडाले भने, ‘खानेपानीको अभावले तराई हाहाकार छ । मान्छेहरू गाग्री लिएर सडकमा आउनुपर्ने अवस्था सिर्जना भएको छ । संघीय संसदमा खानेपानीमन्त्री हुनुहुन्छ र मन्त्रालय छभन्ने जानकारी छ । एक महिनादेखि मन्त्री हराए सूचना प्राप्त भयो । देखा पर्न सक्नु भएको छैन ।’
‘मन्त्रीलाई संसदमा उपस्थित गराएर त्यहाँको समस्याको बारेमा सदनलाई जानकारी गराउन रुलिङको माग गर्दछु,’ कांग्रेसका सांसद खतिवडाले भनेका छन् ।