न्यूज डेस्क | साउन १२, २०८२ आइतबार
रौतहट, चन्द्रपुर – चन्द्रपुर नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समिक्षा कार्यक्रम मिति २०८२ साल श्रावण ९ गते भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम नगर प्रमुख श्री संजय कुमार काफ्ले, नगर उपप्रमुख जयमाला कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण कुमार साह, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा सम्पूर्ण नगरपालिकाका कर्मचारीहरूको सक्रिय सहभागितामा सम्पन्न भएको हो।
कार्यक्रमको प्रमुख उद्देश्य आर्थिक वर्ष २०८१/०८२ मा नगरपालिकाबाट सम्पादन गरिएका योजनाहरूको समिक्षा गर्नुका साथै प्राप्त उपलब्धि, चुनौतिहरू र सिकाइहरूको मूल्याङ्कन गर्नु रहेको थियो। साथै, आगामी आर्थिक वर्षको योजना, नीति तथा कार्यक्रमहरू प्रभावकारी ढंगले कार्यान्वयन गर्ने रणनीतिमा समेत छलफल गरिएको थियो।
नगर प्रमुख श्री संजय कुमार काफ्लेले समिक्षा कार्यक्रममा सम्बोधन गर्दै भने, "हामीले यो आर्थिक वर्षमा धेरै सकारात्मक उपलब्धिहरू हासिल गरेका छौँ। सेवा प्रवाहमा सुधार, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाका क्षेत्रमा उल्लेखनीय प्रगति देखिएको छ। तर अझै सुधार गर्नुपर्ने धेरै पक्षहरू छन्। आगामी दिनहरूमा योजनाहरूलाई अझ जनमुखी र परिणाममुखी बनाउने हाम्रो प्राथमिकता रहनेछ।"
त्यसैगरी, नगर उपप्रमुख जयमाला कुमारी चौधरीले महिला, बालबालिका, वृद्ध, अपाङ्ग तथा अन्य सामाजिक वर्गका जनताको सहभागिता र पहुँचलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै समावेशी योजनाको आवश्यकता औँल्याइन्।
प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण कुमार साहले कार्यक्रमका क्रममा आर्थिक विवरण, खर्च र प्राप्तिको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। उनले योजनाको प्रभावकारिता र पारदर्शिता कायम राख्न सबै पक्ष जिम्मेवार रहनुपर्ने बताए।
कार्यक्रममा सहभागी वडा अध्यक्षहरू तथा कार्यपालिका सदस्यहरूले आ–आफ्नो वडामा भएका कामको विवरण प्रस्तुत गर्नुका साथै देखा परेका समस्या तथा सुधार गर्नुपर्ने पक्षबारे सुझाव र राय राखेका थिए। सहभागीहरूले योजना कार्यान्वयनमा देखिएका ढिलासुस्ती, बजेटको समयमै सदुपयोग, जनसहभागिता अभिवृद्धि लगायतका विषयमा गम्भीर छलफल गरेका थिए।
कार्यक्रमको अन्त्यमा नगर प्रमुख काफ्लेले समिक्षाबाट आएका सुझावलाई आगामी नीतिनिर्माण र योजना कार्यान्वयनमा समावेश गर्ने प्रतिबद्धता जनाउँदै सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।
उक्त कार्यक्रमले चन्द्रपुर नगरपालिकालाई आगामी दिनमा अझ प्रभावकारी र उत्तरदायी शासनतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ।