न्यूज डेस्क | साउन १७, २०८२ शुक्रबार

रौतहटको चन्द्रपुर नगरपालिका–९ स्थित सिन्दुरेघारी चाँदीखोलामा ‘जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानअन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा निर्माणाधीन ‘जन्मोत्सव पार्क’मा योगदान पुर्‍याएको भन्दै दुई सरकारी कर्मचारीलाई विशेष सम्मान प्रदान गरिएको छ ।


तराई विकास तथा सञ्चार केन्द्र, काठमाडौंको संयोजनमा आयोजित कार्यक्रममा पूर्वाधार विकास कार्यालय गौरका प्रमुख इन्जिनियर दीपक कुमार मिश्र र लेखा अधिकृत सुदीप गौतमलाई सम्मान गरिएको हो । आयोजक संस्थाका अनुसार, उनीहरूद्वारा पार्क निर्माणमा गरिएको निरन्तर प्रयास र सक्रियताका लागि कृतज्ञता स्वरूप सम्मानपत्र प्रदान गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका प्रमुख उमाकान्त आचार्य, प्रमुख जिल्ला अधिकारी विनोद खड्का, जिल्ला प्रहरी प्रमुख एसपी नेत्रमणि गिरी, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी रूपा लाबुङ, र तराई विकास तथा सञ्चार केन्द्रका अध्यक्ष गोविन्द प्रसाद चौलागाईंले संयुक्त रूपमा उनीहरूलाई सम्मानपत्र प्रदान गरेका थिए।



प्रमुख जिल्ला अधिकारी खड्काले आफ्नो मन्तव्यमा जन्मोत्सव पार्क निर्माणमा सरकारी कर्मचारीहरूबाट देखिएको अग्रसरता प्रसंशनीय भएको बताए। उनले भने, “जनहितका काममा सरकारी संयन्त्रबाट यति सक्रिय भूमिका देखिनु सकारात्मक संकेत हो। यसले अन्य कर्मचारीहरूलाई पनि प्रेरणा मिल्नेछ।”

वक्ताहरूले जन्मोत्सव पार्क परियोजना न केवल हरियाली र वातावरणीय सन्तुलनका लागि, तर पर्यटन प्रवर्द्धन र सामाजिक उत्तरदायित्व निर्वाहका लागि पनि उदाहरणीय अभ्यास हुने धारणा राखे।



पार्क निर्माणको काम हाल जारी रहेकाले आगामी दिनहरूमा थप वृक्षारोपण र पूर्वाधार विस्तार हुने जानकारी आयोजक संस्थाले दिएको छ। ‘जन्मदिनलाई सत्कर्ममा जोड्ने’ अभियान अन्तर्गत यस किसिमका कार्यक्रमले सामाजिक परिवर्तनको मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ।