न्यूज डेस्क | असोज ३, २०८२ शुक्रबार
प्रधानमन्त्री सुशीला कार्कीले कुनै शासकीय आकांक्षा बोकेर आफू प्रधानमन्त्री नभएको बताएकी छन्। टुँडिखेलमा संविधान दिवसको अवसरमा आयोजित समारोहमा बोल्दै प्रधानमन्त्री कार्कीले आफूले कुनै शासकीय आकांक्षा र पदको लालसा लिएर प्रधानमन्त्री नभएको बताएकी हुन्।
'देश संकटमा रहेको बेलामा परिवर्तनगामी युवा पुस्ताको अनुरोधका आधारमा चुप लागेर बस्न नसकी संक्रमणको व्यवस्थापन गर्दै नेपालको संविधान बमोजिम ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचनमार्फत जनप्रतिनिधि सरकारलाई जिम्मेवार हस्तान्तरण गर्नेगरी वर्तमान अन्तरिम सरकारको प्रधानमन्त्री भएको हुँ,' उनले भनिन्। उनले नागरिकले अपेक्षा गरेअनुसारको काम गर्न सरकार प्रतिबद्ध रहेको बताइन्।
'अन्तर्राष्ट्रिय स्तरमा देखिएको नागरिकमैत्री शासन प्रणाली, खुला सरकार र भर्चुअल शासनको बारेमा जानकार रहेका युवापुस्ताले उठाएको रोजगारीको अवसर, गुणस्तरीय जीवनस्तर, सरकारका काम कारबाहीमा पारदर्शिता, कानूनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकास जस्ता सवालहरु यथार्थमै हामी सबै पुस्ताका साझा अपेक्षा र राष्ट्रिय एजेण्डा हुन् । यि एजेण्डालाई आत्मसाथ गर्दै जनअपेक्षा बमोजिम काम गर्न यो सरकार प्रतिवद्ध छ,' उनले भनिन्।
उनले जेन जी पुस्ताको आन्दोलन हामीले प्रतिवद्धता व्यक्त गरेको संघीय गणतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष, सक्षम न्यायपालिका, कानूनी राज्य, सुशासन लगायतका लोकतान्त्रिक मूल्य, मान्यतामा हामी खरो उत्रिन नसक्नुको परिणाम रहेको पनि बताइन्।