न्यूज डेस्क | असोज ३, २०८२ शुक्रबार

नेपाली कांग्रेसले तत्काल कसैलाई पनि कार्यवाहक सभापति नदिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले तत्काल कसैलाई कार्यवाहक सभापतिको जिम्मेवारी नदिने र विशेष महाधिवेशन पनि नगर्ने निर्णय गरेको सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए ।


यी विषयमा सभापति शेरबहादुर देउवा स्वस्थ भएपछि केन्द्रीय समिति बैठक बोलाउने र त्यही बैठकमा छलफल गर्ने निर्णय भएको सहमहामन्त्री यादवले बताए ।



सभापति देउवा जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते आफ्नो निवास बुढानीलकण्ठमा कुटिएका थिए । उनी अहिले उपचार गराइरहेका छन् । ‘सबै विषयमा सभापति स्वस्थ भएपछि कुराकानी हुन्छ । उहाँ (देउवा) स्वस्थ भएपछि केन्द्रीय समिति बोलाउने र त्यसैमा छलफल गर्ने बैठकमा कुराकानी भएको छ,’ सहमहामन्त्री यादवले भने, ‘केन्द्रीय समिति बैठक दसैँ तिहारपछि बोलाउने निर्णय भएको छ ।’

त्यसैगरी कांग्रेसले संसद् विघटन असंवैधानिक भएको निष्कर्ष गरेको छ ।‍ बैठकले संसद् विघटन असंवैधानिक भएको ठहर गर्दै यस विषयमा अन्य दलसँग पनि छलफल गर्ने निर्णय गरेको छ ।



२३ र २४ भदौमा भएको जेनजीको आन्दोलनपछि पहिलो पटक औपचारिक बैठक बसेकाे हो । प्रदर्शनकारीले आगजनी गरेका कारण कांग्रेस केन्द्रीय कार्यालय क्षतिग्रस्त बनेको छ । क्षतिग्रस्त कार्यालयमा पहिलोपटक आज उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बैठक बसेको हो । बैठकले सभापति देउवाको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।