न्यूज डेस्क | असोज ५, २०८२ आइतबार
शुक्रबार बेलुकीदेखि अवरुद्ध रहेको मुग्लिन–नारायणगढ सडकखण्ड अझै खुल्न सकेको छैन। मुग्लिन नजिकै तुईन खोलामा फराकिलो पुल निर्माणका क्रममा पहाड काटिएको ठाउँमा खसेको पहिरोले सडक अवरुद्ध भएको हो। शुक्रबार खसेको पहिरो पन्छाउन नभ्याउँदै शनिबार बिहान फेरि अर्को ठूलो पहिरो खसेपछि सडक खुलाउने कार्य थप जटिल बनेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। लगातारको पहिरोले गर्दा सडक खुलाउन नसकिएको र यसले यात्रुहरूलाई थप सास्ती भएको छ।
सडक अवरुद्ध भएपछि शुक्रबार बेलुकीदेखि नै सयौं सवारी साधन र त्यसमा सवार यात्रुहरू सडकमै रोकिएका छन्। गन्तव्यमा हिँडेका यात्रुहरू दुई रातसम्म सडकमै अलपत्र परेका छन्। कतिपय यात्रु गाडीमै सुत्न बाध्य छन् भने कतिपय सडकमै रात बिताइरहेका छन्। धेरै यात्रु भोकै बस्न बाध्य भएको बताइएको छ।
आज बिहान उज्यालो हुनेबित्तिकै सडक खुलाउने प्रयास सुरु भएको मुग्लिन प्रहरीले जानकारी दिएको छ। तर, पहिरोको आकार ठूलो भएकाले सडक खुल्न अझै केही समय लाग्ने अनुमान गरिएको छ। सडक डिभिजन कार्यालय भरतपुरले यात्रुहरूलाई सकेसम्म वैकल्पिक बाटोको प्रयोग गर्न र लेन अनुशासन पालना गर्न आग्रह गरेको छ। कार्यालयका अनुसार मुग्लिन सडकको विकल्पमा नौबिसे–दामन–हेटौंडा र कालिगण्डकी करिडोरको मुग्लिन–भिमाद–डेढगाउँ–गैंडाकोट सडक प्रयोग गर्न सकिनेछ।