न्यूज डेस्क | असोज ५, २०८२ आइतबार

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई पार्टी फुटाएर भएपनि अघि बढ्न सुझाव आउन थालेको छ । जेन–जी पुस्ताको आन्दोलनपछि देश नयाँ राजनीतिक कोर्समा अघि बढिरहेको छ। अहिले अन्तरिम सरकारको नेतृत्व पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले गरिरहेकी छिन् ।


यो सरकारलाई आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउने म्याण्डेट छ । निर्वाचनको लागि सबै दलले तयारी थालेका छन् । तर, कांग्रेसभित्र नेतृत्व हस्तान्तरणको विषय जबरजस्त रुपमा उठ्न थालेको छ । जेन–जी आन्दोलनपछि महामन्त्री थापाले तीन पटक भिडिओ सन्देश जारी गरेका छन्। यो बीचमा उनी एकपटक आन्दोलनको क्रममा आगजनीमा परेको पार्टी कार्यालयको निरीक्षणमा पनि पुगेका थिए ।



उनले आफूहरु सच्चिने प्रण गरेका छन् । युवा पुस्ताहरुको भावनालाई समेटेर पार्टी रुपान्तरण गर्ने उनको प्रतिबद्धता छ । हिजो जेन–जी आन्दोलनमा निधन भएकाहरुको १३औं पुण्यतिथिको अवसरमा पनि थापाले भिडिओ सन्देश जारी गरेका थिए । त्यसमा उनले नेपाली कांग्रेस रुपान्तरणको विकल्प नभएको भन्दै सभापति शेरबहादुर देउवालाई मनाउने, फकाउने र नमाने अघि बढ्ने उद्घोष गरेका छन् ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा गएर भएपनि पार्टीको नेतृत्व परिवर्तनको प्रस्ताव गरेका थिए । उपसभापति पूर्णबहादुर खड्कालगायतले महामन्त्रीद्धयको प्रस्तावलाई अस्विकार गरेको र अहिले सभापति अस्पतालमा उपचार गराईरहेको बेलामा यस्तो कुरा गरिनु उचित नहुने धारणा राखेका थिए । थापाले यसपटक पार्टीभन्दा माथि देश छ भन्दै अब चुप लागेर नबस्ने उद्घोष गरेका छन् ।



गगनले नेतृत्व परिवर्तनको लागि विशेष महाधिवेशनको माग गरेपछि सभापति देउवानिकट नेताहरुले सार्वजनिक रुपमा आलोचना गर्न थालेका छन् । प्रवक्ता डा. प्रकाशशरण महतले त पार्टी सभापति देउवामाथि सांघातिक आक्रमण भएर अस्पतालमा उपचार गराईरहेको बेलामा नेतृत्व परिवर्तनको बहस चलाउनु घाउमा नून छर्किनुजस्तै भएको टिप्पणी गरेका छन् ।

आफ्नै निवासमा गरेको पत्रकार सम्मेलनमा महतले भनेका थिए,‘अहिले कांग्रेसभित्र पनि विभिन्न खाले बहस भइरहेको छ । हाम्रो पार्टी सभापतिजी, जसले लोकतन्त्रका लागि लामो संघर्ष गर्नुभएको छ, उहाँमाथि यस्तो त्रासदीपूर्ण आक्रमण भयो । अझै उहाँ उपचारको पूर्ण अवस्थामा पुग्नुभएको छैन । त्यस्तो बेला संवेदनशील हुन नसक्नु दुर्भाग्यपूर्ण कुरा हो।’

आजै कांग्रेसका पाँच शीर्ष नेताहरु छुट्टै छलफलमा जुटेका छन् । प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला र डा. प्रकाशशरण महतले पार्टीभित्र एकताको खाँचो औंल्याएका छन् । महामन्त्री थापाले विशेष महाधिवेशनको लागि लिएको पहलकदमीप्रति उनीहरुले गुनासो गरेको समाचार बाहिरिएका छन् ।

थापाका शुभेच्छुकहरुले भने तत्काल नयाँ पार्टी खोल्नको लागि सुझाव दिएको पनि चर्चा छ । थापानिकट मानिएका चर्चित डाक्टर रामेश कोइरालाले अब पनि सच्चिन्न भने नयाँ रुख रोप्नु भनेका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्–‘अब पनि सच्चिन्न् भने नयाँ रुख रोप्नु । कम होलान् तर सोच, विचार र हुटहुटी र पाएको बेलाको क्षमता देखेका जनले पत्याउँछन् । संगठन विस्तारमा लाग्नु । कम सिट आउला तर मलजल गरेपछि बढ्छ नै । तीसौं वर्ष मलजल गरेको रुखमा हरक्षण विष फले अब रुखको माया नगर्नु । सानै सही, आशाको नयाँ बिरुवा रोप्नु ।’



अर्का राजनीतिक विश्लेषक डम्बर खतिवडाले पनि गगनलाई पनि कांग्रेस छोड्न वा फोड्नको लागि सुझाव दिएका छन् । सामाजिक सञ्जाल एक्समै खतिवडाले लेखेका छन्–‘गगनजीले जति आत्मसमिक्षा र आव्हान गरेपनि, त्यो कांग्रेस महामन्त्रीको संस्थागतजस्तो फिटिक्कै लाग्दैन । कांग्रेसलाई बुझ्ने नागरिक नजर भिन्नै छ । गगन त्यसभित्र छैनन् । गगनले कांग्रेस छोड्न नसकेका हुन्, कांग्रेसले गगनलाई छोडिसक्यो । बरु, गगनले पनि अब कांग्रेस छोडे वा फोडे हुन्छ ।