न्यूज डेस्क | असोज ७, २०८२ मंगलबार

 


काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जेन–जी विद्रोहलाई विदेशी शक्तिसँग जोड्दै यसलाई सामान्य रूपमा नहेर्न आग्रह गरेका छन्।



ओलीलाई भेट्न पुगेका नेताहरूलाई उनले ढाडस दिँदै भने, “सबै कुरा खानू, हरेस नखानू। नआत्तिने, सबै कुरा समय परिस्थितिमा बाहिर आउँछ। हाम्रो गल्ती केही छैन, सबै कुरा ठीक हुन्छ, फेरि हामी लयमा आउँछौँ।”

नेता देवेश बरालका अनुसार ओलीले विद्रोहलाई नियोजित विदेशी चलखेलको हिस्सा भनेका छन्। “यो नेपालको भू–राजनीतिमाथि नियोजित आक्रमण हो, केपी ओलीमाथि मात्र होइन,” उनले ओलीको भनाइ उद्धृत गर्दै बताए।



ओलीले थप प्रश्न गर्दै भनेका छन्, “प्रधानमन्त्री भएको कारणले ममाथि हमला भएको हो भने, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमाथिको हमला के? भीम रावलमाथिको हमला किन? यो संयोग मात्र होइन।”

उनका अनुसार पछिल्लो घटनाक्रम नेपालविरुद्धको विदेशी हस्तक्षेपको स्पष्ट संकेत हो। यसैबीच, जेन–जी प्रदर्शनकारीले एमालेको कार्यालय जलाएपछि नयाँ स्थान खोज्ने काम भइरहेको छ। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एकदुई दिनभित्र नयाँ कार्यालयबारे निष्कर्ष निकाल्ने जानकारी दिएका छन्।