न्यूज डेस्क | असोज १३, २०८२ सोमबार
काठमाण्डौ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पालिकाहरुले चाडबाडको समयमा समेत शिक्षक कर्मचारीहरुलाई तलब नखुवाएको विषयमा अनुसन्धान गर्र्ने बताएका छन् ।
शिक्षा मन्त्रालयले सबै पालिकाहरुलाई रकम पठाइसके पनि पालिकाहरुले तलब खुवाउन ढिलासुस्ती गरेको र अनेक बहाना देखाइ तलब नखुवाएको गुनासोको आधारमा अनुसन्धान गर्ने मन्त्री पुनले बताएका हुन् ।तलब पाइएन भनेर फोनबाट र इमेलबाट ५०० भन्दा बढी गुनासो आएको मन्त्री पुनले बताएका छन् । गुनासोको संख्या सबैभन्दा धेरै संख्या मधेश प्रदेशको रहेको उनको भनाइ छ ।
‘मलाई सबैभन्दा धेरै फोन मधेशबाट आएको छ । वर्ष दिनमा आउने दशैं, तिहार र छठ पर्व जस्तो महान चाडबाडको बेलामा पनि पालिकाले ढिलासुस्ती र अनेक बहाना देखाई तलब नखुवाएको ५०० भन्दा बढी गुनासो मलाई फोनबाट र इमेलबाट आयो ।’
यस विषयमा अनुसन्धान गर्ने र यस्तो बेथिति समाधानको उपाय खोज्ने मन्त्री पुनले उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘शिक्षा मन्त्रालयले सबै पालिकाहरुलाई पैसा पठाई सकेको रहेछ। यस्तो बेथिति कसरी भयो भन्ने कुरामा अनुसन्धान गर्दैछु र सो बेथितिको समाधानको उपाय खोज्दैछु ।’