प्राइम खबर संबाददाता | असोज २५, २०८२ शनिबार
चन्द्रपुर–४ मा अवस्थित चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लि. को १७औं वार्षिक साधारणसभा शनिबार चन्द्रपुर–४ स्थित गोल्डेन ब्याङ्केटको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष बसन्त आचार्यले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा चन्द्रपुर–५ निवासी संस्थाका जेष्ठ सदस्य टिकाराम भट्टराई उपस्थित रहनुभएको थियो। कार्यक्रममा विभिन्न सञ्चारकर्मी तथा सामाजिक अभियन्ताहरूको विशेष आतिथ्यता रहेको थियो।
कार्यक्रमको अतिथिहरूमा नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष सञ्जय कार्की, उपाध्यक्ष सुब्बा कार्की, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य रमेश तिमल्सिना, न्यूज–२४ रौतहटका प्रतिनिधि अनमोल कार्की, प्राइम टेलिभिजनका रौतहट प्रतिनिधि सन्तोष काफ्ले, सुप्रिम एफएमका स्टेशन म्यानेजर मुकेश साह र सञ्चारकर्मी पवन घिमिरे लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा अध्यक्ष बसन्त आचार्यले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने सचिव सञ्जय प्रसाद साहले सचिवीय प्रतिवेदन र कोषाध्यक्ष तथा लेखा सुपरिवेक्षण समितिले आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्य संस्थाका बरिष्ठ उपाध्यक्षले राख्नुभएको थियो भने संचालन शिक्षा उपसमिति सदस्य रामचन्द्र शिवाकोटीले गर्नुभएको थियो।
सभामा उपस्थित शेयर सदस्यहरूलाई मनोरञ्जन दिन चन्द्रपुर–६ स्थित चन्द्रपुर एकेडेमीका विद्यार्थीहरूले आकर्षक नृत्य प्रस्तुति दिएका थिए। साथै, वार्षिक रूपमा उत्कृष्ट योगदान गर्ने सदस्यहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
संस्थाले उत्कृष्ट दैनिक बचतकर्ता, उत्कृष्ट कारोवारी सदस्य, उत्कृष्ट मासिक बचतकर्ता र उत्कृष्ट बाल बचतकर्तालाई दोसल्ला ओढाई, प्रशंसापत्र र पुरस्कार प्रदान गरी सम्मान गरेको थियो।
साधारणसभामा १,५३९ जना शेयर सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा संस्थाका संचालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, उपसमिति सदस्य र कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको विशेष क्षणमा अध्यक्ष बसन्त आचार्यले आफ्नी दिवंगत माता स्वर्गीय इश्वरी देवी आचार्यको स्मृतिमा “स्वर्गीय इश्वरी देवी स्मृति सामाजिक पुरस्कार” स्थापना गर्ने घोषणा गर्नुभयो। उक्त पुरस्कारका लागि रु. ५०,००० को अक्षयकोष चन्द्रोदय साकोसमा रहनेछ। सो कोषको ब्याजबाट प्रत्येक वर्ष फागुन १५ गते सहकारीको स्थापना दिवसको अवसरमा समाजका योगदानकारी व्यक्तित्वहरूलाई सम्मान गरिने जानकारी अध्यक्ष आचार्यले दिनुभयो।
कार्यक्रमको पहिलो सत्रमा प्रतिवेदन प्रस्तुतिपछि दोस्रो सत्रमा शेयर सदस्यहरूले प्रतिवेदनहरूमा जिज्ञासा, राय र सुझाव राखेका थिए। सोही छलफलपछि सबै प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएका थिए।
अन्त्यमा प्रमुख अतिथि तथा अतिथिहरूलाई मायाको चिनो प्रदान गर्दै अध्यक्ष बसन्त आचार्यले साधारणसभाको औपचारिक समापन घोषणा गर्नुभएको थियो।