प्राइम खबर संबाददाता | कात्तिक १, २०८२ शुक्रबार
रौतहट, चन्द्रपुर नगरपालिकाका विभिन्न वडाका जेष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ता लिन बिहानैदेखि तातो घाममा लाइन बस्न बाध्य भएका छन्। नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको लापरबाही तथा मिलेमतोका कारण सेवाग्राहीहरूलाई असहज भएको जेष्ठ नागरिकहरूले गुनासो गरेका छन्।
भत्ता वितरणका लागि चन्द्रनिगाहपुरस्थित सेन्ट्रल फाइनान्स बैंक रोजिएपछि धेरै वृद्धवृद्धालाई भत्ता लिन निकै दुःख भएको छ। बिहान सबेरैदेखि लाइनमा बस्नुपरेको, घाम ताप्नुपरेको, पानी नपाउने, र घण्टौँ प्रतीक्षा गर्नुपरेको, फलामे भर्याङ चढ्न ओर्लन जस्ता समस्याहरूले जेष्ठ नागरिकहरूलाई हैरान बनाएको छ।
स्थानीयवासीहरूको भनाइअनुसार, बैंक रोजाइमा जनप्रतिनिधि र केही कर्मचारीबीच ‘सेटिङ’ भएको शंका गरिएको छ। उनीहरूका अनुसार, सहज र पहुँचमा रहेका अन्य बैंक वा वडामै वितरणको विकल्प हुँदाहुँदै पनि सेन्ट्रल फाइनान्स रोजिनुले सेवाग्राहीमाथि अन्याय भएको छ।
एक वृद्ध नागरिकले भने, “हामी बिहान ६ बजेदेखि लाइनमा छौँ, घाममा पोलिँदै बस्नु परेको छ। हातखुट्टा दुख्छ, तर कसैले वास्ता गरेको छैन।” अर्की वृद्धाले जोड्दै भनिन्, “वडामै वितरण हुन्थ्यो भने हामीजस्ता बुढाबुढीलाई यस्तो कष्ट सहनु पर्ने थिएन।”
यसैबीच, स्थानीयहरूले भत्ता वितरण प्रणाली वडास्तरमै लैजानुपर्ने माग गरेका छन्। उनीहरूले नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीको मिलेमतो अन्त्य गरी पारदर्शी र सहज प्रणाली लागू गर्नुपर्ने बताइरहेका छन्।
नगरपालिकाका जिम्मेवार अधिकारीहरू भने यस विषयमा मौन छन्। यदि सुधारका पहल नभए, स्थानीय बासिन्दा र जेष्ठ नागरिकहरूले विरोध प्रदर्शन गर्ने चेतावनी दिएका छन्।