प्राइम खबर संबाददाता | जेठ ५, २०७८ बुधबार

नवलपरासी पश्चिमको सीमामा सशस्त्र प्रहरीले गोली चलाउदा गम्भीर घाइते युवकको उपचारका लागि बुटवल लैजादा बाटोमा मृत्यु भएको छ । प्रतापपुर गाउँपालिका वडा नं ६ कठहवा बस्ने २२ वर्षीय युवक अविनाश राजभर (राय) को मृत्यु भएको हो ।


खुट्टामाथिको संवेनशील अंग नजिकै गोली लाग्दा गम्भिर घाइते भएका राजभरको मृत्यु भएको अस्पताल स्रोतले जनाएको हो ।
जिल्लाको प्रतापपुर गाँउपालिका वडा नं। ६ कङ्गलीखोला (धोबहा) को पूर्वतर्फ  आज बिहान ९ बजे २ जना युवक भारततर्फ आवश्यक सामान लिन जान खोज्दा सीमामा खटिएका सशस्त्र प्रहरीटोलीले रोक्न खोज्दा विवाद सिर्जना भएपछि स्थानीयहरु जम्मा भई प्रहरीसंग  केही समय झडप भएपछि सशस्त्र प्रहरीले आत्मरक्षाका लागि ५ राउण्ड गोली प्रहार गरेको स्थानीय  बताउँछन् भने सशस्त्र प्रहरीले दुई राउन्ड गोली र केही अश्रुग्यास प्रहरी गरिएको जनाएको छ ।
गोली लागेर गम्भिर धाइते भएका युवकलाई शहिद स्मृती सामुदायीक अस्पताल चौपता पठाइएको तर त्यहा सो उपचार हुन नसकेपछि बुटवलस्थित सिटी अस्पतालमा रिफर गरिएको थियो । सिटी अस्पतालका चिकित्सकहरुले राजभरलाई जाँचको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए । उनले थप जानकारी रिपोर्ट आउन बाकी रहेको समेत जानकारी दिएका छन्  । उता सशस्त्र प्रहरी बिओपी बलिनगरका सइ शंकर बुढाथोकीको टाउकोमा गम्भीर चोट लागेको सशस्त्र प्रहरी गण नं २६ का एसपी महेश अधिकारीले बताएका छन्  ।