प्राइम खबर संबाददाता | कात्तिक २, २०८२ शनिबार

रौतहट, गत भदौ २४ गते जेन्जि आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको भवन पुनःनिर्माण कार्य सम्पन्न भई आज (शनिबार) औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।


स्थानीयवासीहरूको सक्रिय सहयोगमा पुनःनिर्माण कार्य अघि बढाइएको उक्त भवन हस्तान्तरण कार्यक्रममा स्थानीय समुदाय, जनप्रतिनिधि, सञ्चारकर्मी र सुरक्षाकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।



कार्यक्रमका प्रमुख अतिथि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायव उपरीक्षक (डिएसपी) रुपा लाबुङले पुनःनिर्माणमा सहकार्य गर्ने सम्पूर्ण दाताहरूप्रति आभार व्यक्त गर्दै भनिन्,  “यो भवन केवल प्रहरीको मात्र होइन, सम्पूर्ण समुदायको सुरक्षा र सहअस्तित्वको प्रतीक हो। स्थानीय सहयोगबिना यो सम्भव हुने थिएन।”

भवन पुनःनिर्माणका लागि विभिन्न व्यक्तिहरूले नगद र जिन्सी सामग्री सहयोग गरेका थिए। पुनःनिर्माण अभियानमा सक्रिय रूपमा जुटेका स्थानीय रुपेश जैसवालले पुनःनिर्माणसम्बन्धी आम्दानी र खर्चको विस्तृत विवरण सार्वजनिक गर्दै सबै सहयोगीप्रति कृतज्ञता व्यक्त गरे।



उनका अनुसार, स्थानीयवासीहरूले श्रमदानदेखि आर्थिक सहयोगसम्मको भूमिका निर्वाह गरेका थिए, जसका कारण भवन छोटो अवधिमै पुनःनिर्माण सम्पन्न हुन सफल भयो।

कार्यक्रममा सहभागी स्थानीय युवाहरूले शान्ति, सुरक्षा र सामुदायिक एकताको सन्देशसमेत दिएका थिए। भवन हस्तान्तरणपछि इलाका प्रहरी कार्यालयले अब पुनःनिर्मित भवनबाट नियमित सेवा सञ्चालन गर्ने जनाएको छ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको भवन पुनःनिर्माणले समुदाय र सुरक्षाप्रति स्थानीयवासीको विश्वास र साझेदारीको नयाँ उदाहरण प्रस्तुत गरेको निर्माणमा सक्रिय रूपले काम गर्दै आएका स्थानीय समाजसेवी तेज विक्रम कार्कीले बताए।

यस अघि पनि चन्द्रनिगाहपुर बजारका स्थानीय युवाहरुको सक्रियतामा बजारमा रहेको अस्थायी प्रहरी पोष्टको पुनर्निर्माण गरिएको थियो।