न्यूज डेस्क | कात्तिक २, २०८२ शनिबार

रौतहट। रौतहटको गरुडा नगरपालिका- ५, शिवनगर स्थित महादेव मन्दिर नजिकैको झाँझ खोलामा शनिबार दिउँसो डुबेर दुई बालकको ज्यान गएको छ।


जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, मृतकहरू देवाही गोनाही नगरपालिका- ३ निवासी भई हाल शिवनगर बसोबास गर्दै आएका संजिव साहका १० वर्षीय छोरा निरज साह र संजिव साहका दाइ राजकिशोर साहका १० वर्षीय छोरा अर्जुन साह रहेका छन्।



घटनास्थल नजिकै खेल्दै गरेका बालकहरू खोलामा डुबेको देखेपछि स्थानीयवासीहरूले तत्काल उद्धार गरी नजिकैको शिवनगरस्थित संजिवनी अस्पताल पुर्‍याएका थिए। तर अस्पतालमा उपचारका क्रममा चिकित्सकहरूले दुवै बालकलाई मृत घोषणा गरेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार, मृतक बालकहरूको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको प्रहरी स्रोतले जनाएको छ।