प्राइम खबर संबाददाता | कात्तिक २, २०८२ शनिबार
रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चन्द्रपुर नगर समितिको प्रथम नगर अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। पार्टीका केन्द्रीय उपसभापति स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले अरुण लामालाई सर्वसम्मत रूपमा नगर सभापतिमा निर्वाचित गरेको छ।
कार्यक्रममा विभिन्न क्षेत्रका जनप्रतिनिधि, व्यवसायी, युवा, महिला तथा नागरिक समाजका व्यक्तित्वको उल्लेख्य उपस्थिति रहेको थियो। अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि स्वर्णिम वाग्लेले रास्वपा देशभर नै नयाँ राजनीतिक विकल्पको रूपमा स्थापित हुँदै गएको उल्लेख गर्दै स्थानीय तहमा पनि इमानदार र सेवाभावी नेतृत्व आवश्यक रहेको बताए। उनले नयाँ नेतृत्वले जनताको अपेक्षा अनुसार काम गर्ने विश्वास व्यक्त गरे।
सो अवसरमा पार्टीका मधेस प्रदेश सभापति तपेश्वर यादव, बागमती प्रदेश सभापति अच्युतम् लामिछाने लगायत पार्टीका विभिन्न तहका पदाधिकारीहरूले समेत शुभकामना मन्तव्य व्यक्त गरेका थिए। वक्ताहरूले रास्वपाको नीति, सिद्धान्त र कार्यशैलीले देशभरका नागरिकमा सकारात्मक ऊर्जा उत्पन्न गरिरहेको र यसले पुरानो राजनीतिक सोचलाई चुनौती दिएको उल्लेख गरे।
नगर अधिवेशनका क्रममा विभिन्न पार्टी परित्याग गर्दै दर्जनौं व्यक्तिहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। उनीहरूलाई पार्टीको तर्फबाट स्वागत गर्दै निवर्तमान नगर सभापति उदय नारायण सापकोटाले रास्वपाको मूल उद्देश्य जनसेवा, पारदर्शिता र सुशासनमा आधारित राजनीति भएको बताएका छन् । उनले नयाँ नेतृत्वले संगठनलाई अझ मजबुत बनाउने विश्वास समेत व्यक्त गरे।
अधिवेशनले चन्द्रपुर नगर समितिको नयाँ कार्यसमिति समेत गठन गरेको छ, जसमा युवाशक्ति र अनुभवसहितको समावेश रहेको पार्टीले जनाएको छ। रास्वपाको यो अधिवेशनले चन्द्रपुर क्षेत्रमा नयाँ राजनीतिक उर्जाको संचार गरेको स्थानीयले बताएका छन्।