न्यूज डेस्क | कात्तिक २, २०८२ शनिबार
रौतहट। नेल्टा मधेसको आयोजनामा आउँदो कार्तिक २१ र २२ गते मधेस प्रदेशको प्रदेश राजधानी जनकपुरमा हुन गइरहेको प्रथम नेल्टा राष्ट्रिय सम्मलेनलाई सफल बनाउनका लागि चन्द्रपुर नगरपालिकाको तर्फबाट उल्लेखनीय सहयोग प्रदान गरेको छ।
सोही सन्दर्भमा चन्द्रपुर नगरपालिकाका मेयर श्री सञ्जय कुमार काफ्ले र नेल्टा रौतहटका प्रतिनिधिहरूबीच एक महत्वपूर्ण भेटघाट तथा छलफल सम्पन्न भएको छ।
छलफलको क्रममा मेयर काफ्लेले नगरपालिकाको तर्फबाट चन्द्रपुर नगरपालिका भित्र कार्यरत १० जना अंग्रेजी शिक्षकको सहभागिता खर्च बेहोर्ने र उक्त कन्फ्रेन्सलाई सफल बनाउनका लागि रु. २५ हजार नगद सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
नगर प्रमुखको उक्त निर्णयले चन्द्रपुर नगरपालिकाले उक्त कन्फ्रेन्सको सहयोगी संस्थाको भूमिका निर्वाह गर्ने भएको छ।
नेल्टा अङ्ग्रेजी भाषाको अध्यापन गराउने शिक्षकहरूको संगठन हो । जसलाई नेपाली इंग्लिश ल्याङ्वेज टीचर एशोसिएसन ( नेल्टा) भनिन्छ ।
नेल्टा मधेस र नेल्टा रौतहट परिवारले मेयर काफ्ले र चन्द्रपुर नगरपालिकाप्रति उहाँहरूको सहयोग र प्रतिबद्धताप्रति हार्दिक धन्यवाद र कृतज्ञता व्यक्त गरेको जन ज्योति माविका शिक्षक पञ्चरत्न शाक्यले बताएका छन् ।