प्राइम खबर संबाददाता | कात्तिक ३, २०८२ आइतबार

आज देशभर तिहारको पहिलो दिन अर्थात् काग तिहार मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनबाट सुरु हुने पाँच दिने तिहार पर्व आज काग तिहारसहित सुरु भएको हो ।


बिहान सूर्योदयको समयमा त्रयोदशी तिथि परेकोले आज आइतबार शास्त्रसम्मत रूपमा काग तिहार पर्व मनाइँदै छ । वैदिक सनातन हिन्दु धर्म अनुसार कागलाई यमराजको सन्देशवाहकका रूपमा पूजा गरिन्छ । नेपाली समाजमा अझै पनि काग करायो भने पाहुना आउँछ भन्ने जनविश्वास रहेको छ ।



यस दिन बिहानै कागलाई आदरपूर्वक पूजा गरेर दही भात लगायतका मिठा परिकार अर्पण गर्ने चलन छ । ‘काकेन दधि भक्षितम्’ कागलाई दही भात खुवाएमा उसले यमराज समक्ष राम्रो सन्देश पुर्‍याउँछ भन्ने धार्मिक विश्वास छ । कागलाई नदिई आफूले खाएमा पापको भागी भइन्छ भन्ने पनि मान्यता छ । त्यसैले आजको दिन कागलाई प्रसन्न पार्दै यमदण्डरूपी संकटबाट मुक्त रहोस् भनेर प्रार्थना गरिन्छ ।

यो पर्वले धार्मिक पक्ष मात्र नभई मानिस र जनावरबिचको सम्बन्ध, पक्षीप्रति कृतज्ञता, तथा प्रकृतिप्रतिको सम्मानको सन्देश पनि दिन्छ । धर्मशास्त्र अनुसार यमराजले पृथ्वीमा रहेका सबै जीवहरूको जन्म मृत्युको विवरण राख्ने गर्छन् । सो विवरण ल्याउने र लैजाने कार्य कागले गर्छ भन्ने विश्वास आज पनि रहँदै आएको छ । आकाश मार्गबाट छिटो सन्देश ल्याउने र पठाउने क्षमताका कारण यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनश्रुति पाइन्छ ।



आजको दिन काठमाडौंको कागेश्वरी मनोहरा महादेव मन्दिरमा विशेष पूजा आराधना भइरहेको छ । त्यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा तथा दर्शनका लागि भक्तजनको भीड लागेको छ ।