प्राइम खबर संबाददाता | कात्तिक ६, २०८२ बुधबार
रौतहट। नेवाः देय् दबू, जिल्ला तथा चन्द्रपुर नगर समितिको आयोजनामा नेपाल संवत् ११४६ न्हुँदया भिन्तुना अवसरमा र्याली तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा नेवाः देय् दबूका चन्द्रपुर नगर समितिका अध्यक्ष कृष्ण कुमार साहीको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेश समितिका उपाध्यक्ष मनमोहन सुन्दर श्रेष्ठ, महिला सदस्य श्रृष्टी श्रेष्ठ र निर्मला दलीका साथै रौतहट जिल्ला समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठ र उपाध्यक्ष राजन श्रेष्ठ अतिथि रहेका थिए ।
नेवारी समुदायले मनाउँदै आएका नेपाल संवत् अर्थात् नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरिएको उक्त र्यालीमा र लाखे नाच प्रदर्शन सहित चन्द्रपुर नगरका नेवाः समुदायका सदस्यहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। र्यालीले चनद्रपुर नगरपालिकाको बिभिन्न स्थानमा परिक्रमा गरेको थियो । सहभागीले चाँदी नदी किनार स्थित रहेको भिमसेन थान मन्दिर परिसरमा समयबजी भोज आयोजना गरी सहभागीबीच आपसी शुभकामना आदान–प्रदान गरिएको नेवाः देय् दबू चन्द्रपुर नगर समितिका सचिव पञ्चरत्न शाक्यले बताए ।
कार्यक्रमका क्रममा वक्ताहरूले जाती, भाषा, धर्म, संस्कृति र परम्पराको जगेर्ना तथा संरक्षण हरेक नेवाः बन्धुहरूको साझा दायित्व र गर्वको विषय रहेको कुरा उल्लेख गर्दै, सबैले एकजुट भई आफ्नो पहिचान र संस्कृति जोगाउँदै अघि बढ्नुपर्ने धारणा राखेका थिए ।
बुधबार भएको उक्त कार्यक्रममा कार्यक्रमको सञ्चालन गर्दै सहभागिता जनाउने सबैलाई सचिव शाक्यले धन्यवाद समेत व्यक्त गरेका थिए ।