प्राइम खबर संबाददाता | कात्तिक ९, २०८२ शनिबार
रौतहट, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रौतहट क्षेत्र नम्बर ४ बाट गणेश पौडेल (गणेश सर) लाई उम्मेदवार बनाउने तय गरेको छ। पार्टीले पौडेललाई उपयुक्त र जनप्रिय उम्मेदवारका रूपमा मूल्याङ्कन गर्दै संघीय संसद् सदस्यका लागि अघि सार्ने तयारी गरेको रास्वपा रौतहटका वरिष्ठ नेता उदय नारायण सापकोटाले जानकारी दिएका छन्।
रास्वपाले पौडेलको उम्मेदवारीलाई “परिवर्तन, पारदर्शिता र नेतृत्वमा नवीन सोच” का रूपमा प्रस्तुत गर्ने तयारी गरेको बुझिएको छ। उनका अनुसार, पौडेलको उम्मेदवारीसँगै रौतहट क्षेत्र नं ४ को स्थानीय राजनीतिक वृतमा नयाँ हलचल आएको छ। चोक–चौतारामा रास्वपाको यो निर्णयलाई लिएर व्यापक चर्चा सुरु भएको छ।
राजनीतिमा नयाँ अनुहारका रूपमा उदाएका गणेश पौडेल सरल स्वभावका, जनमैत्री र अबिबादित व्यक्तित्वका रूपमा चिनिन्छन्। विभिन्न सामाजिक र सहकारी संस्थामा सक्रिय पौडेल नेतृत्व र कार्यशैलीका कारण पनि सफल व्यवस्थापकको रूपमा परिचित छन्। उनी रौतहट जिल्लाकै सबैभन्दा ठूलो र बढी संख्यामा शेयर सदस्य रहेको संकल्प सहकारी संस्था लि. का अध्यक्ष समेत हुन्।
सामाजिक क्षेत्रदेखि आर्थिक सशक्तिकरणसम्म सक्रिय योगदान दिँदै आएका पौडेलले जनताको विश्वास जित्ने नेतृत्वका रूपमा आफूलाई स्थापित गरेको स्थानीयले बताएका छन्। स्थानीय बासिन्दा शम्भु प्रसाद भट्टराईका अनुसार, “गणेश सर जनताको सुख–दुःखमा सधैं साथ दिने व्यक्तित्व हुन्, उनी जनप्रतिनिधिका रूपमा पुग्दा क्षेत्रको विकासले फड्को मार्नेछ।”
रास्वपाका नेताहरूले पौडेलको उम्मेदवारीले क्षेत्र नं ४ मा पार्टीको पकड थप मजबुत हुने र आगामी निर्वाचनमा सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरेका छन्। पार्टी स्रोतका अनुसार, अब रास्वपाले पौडेलको नेतृत्वमा घरदैलो अभियान, नीति परिचर्चा र युवालाई केन्द्रमा राख्ने जनजागरण कार्यक्रम तीव्र पार्ने तयारी गरेको छ।
पौडेलको उम्मेदवारीसँगै रौतहट क्षेत्र नं ४ मा चुनावी प्रतिस्पर्धा रोचक बन्ने अनुमान गरिएको छ। स्थानीय राजनीतिक विश्लेषकहरूले रास्वपाको यो निर्णयले पुराना पार्टीहरूको समीकरणमा पनि प्रभाव पार्ने मूल्याङ्कन गरेका छन्।