प्राइम खबर संबाददाता | कात्तिक ९, २०८२ शनिबार
रौतहट, गत भाद्र २४ गते भएको जेनजी आन्दोलनका क्रममा चन्द्रपुर नगरपालिकामा ठूलो भौतिक क्षति भएको छ। आन्दोलनकारीले नगरपालिकाका सम्पूर्ण कुर्ची–टेबल, कागजातदेखि लिएर विभिन्न सवारी साधनहरूसम्ममा आगजनी गरेका थिए। नगरपालिकाको कार्यालय प्रशासकिय भवन लगायत सम्पत्ति जलेर ध्वस्त भए पनि तत्काल नियन्त्रणमा लिन नगरपालिकाकै दमकल प्रयोगमा आउन नसक्दा स्थानीयवासी आक्रोशित बनेका छन्।
नगरपालिकाले केही वर्षअघि करोडौं रुपैयाँ खर्च गरेर दमकल खरिद गरेको थियो। तर आन्दोलनका क्रममा देखिएको आगलागी नियन्त्रण गर्न उक्त दमकल निष्क्रिय देखिएको छ। आगो निभाउन सक्ने प्रमुख साधन हुँदा–हुँदै प्रयोगमा नआएको विषयले प्रश्न खडा गरेको छ।
स्थानीयवासीहरूले घटनालाई "नगरपालिकाको लापरबाही" को उपज भन्दै आलोचना गरेका छन्। उनीहरूको भनाइमा, “करोडौंको लगानीमा ल्याइएको दमकल संकटको समयमा कामै लागेन भने त्यसको औचित्य के हो?”
आन्दोलनका कारण भएको क्षतिको सम्पूर्ण विवरण अझै सार्वजनिक गरिएको छैन। तर प्रारम्भिक अनुमानअनुसार करोडौं रुपैयाँ बराबरको सम्पत्ति जलेर नष्ट भएको बताइन्छ।
यस घटनाले चन्द्रपुर नगरपालिकाको तयारी, जनताको करबाट किनेको साधनको सदुपयोग तथा संकट व्यवस्थापन क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ।