प्राइम खबर संबाददाता | कात्तिक १२, २०८२ मंगलबार

सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ ।


कात्तिक शुक्ल चौथी देखि सप्तमीसम्म विभिन्न विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरूले व्रत सङ्कल्प गरी स्नान गरेर चोखो नितो खाएका थिए । पहिलो दिनको यो विधिलाई स्थानीय बोलीचालीको भाषामा ‘नहाय–खाय’ भनिन्छ । 



मूलतः सूर्यदेवको उपासना गरिने छठ पर्वको दोस्रो दिन पञ्चमी तिथिमा व्रतालुले दिनभरी निराहार व्रत बसी राति सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ विधि गरेका थिए । त्यस्तै, षष्टि तिथिको दिन अर्थात आइतबार सन्ध्याकालीन र आज सोमबार प्रभातकालीन सूर्यको अर्घ दिएपछि चार दिवसीय छठ पर्व विधिवत् रूपमा समापन भएको छ ।

छठ पर्वका लागि पूजा सामग्री र नैवेद्य तयार गर्दा अत्यन्त सावधानीका साथ ख्याल गर्नु पर्छ । यस पर्वमा ढिकी–जाँतोमा परम्परागत तरिकाले कुटिएको र पिसिएको गहु तथा चामलको पीठोबाट बनाइएका ठकुवा, भुसुवा, मिष्टान्न परिकार, माटोको भाडामा जमाइएको दही, उखु, मौसम अनुसारका फलफूल, कोसिया कुरवार लगायतका पूजा सामग्रीहरूले सूर्यलाई अर्घ्य दिने प्रचलन रहेको छ ।



निर्धनता र निःसन्तानबाट मुक्ति पाउन एवम् मानव जातिको उत्थान गर्न र आरोग्यका लागि यो पर्व मनाउने गरिएको जनविश्वास रहेको छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ । आरोग्य र दीर्घायुसँग जोडिएको छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि पाइन्छ ।