प्राइम खबर संबाददाता | कात्तिक १२, २०८२ मंगलबार
पश्चिमी वायुका साथै अरब सागरबाट उत्पन्न न्यून चापीय प्रणालीका कारण मौसम बदली हुँदा मनाङ र मुस्ताङमा मंगलबार भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज मनाङ र मुस्ताङमा भारी वर्षा अभिलेख भएको हो ।
विभागका अनुसार मनाङको चामेमा पछिल्लो २४ घण्टामा ६४.४ मिलिमिटर वर्षा भएको छ । त्यसैगरी मुस्ताङको जोमसोममा ५१.२ मिलिमिटर वर्षा भएको छ । पचास मिलिमिटरदेखि १०० मिलिमिटरसम्मको वर्षालाई भारी वर्षामा मापन गर्ने गरिन्छ ।
अन्य धेरै जिल्लामा मध्यमसम्म वर्षा भएको विभागले जनाएको छ । अहिले ३ः४० बजेसम्मको अभिलेख अनुसार डोल्पाको दुनैमा ३६, जुम्लामा १३ मिलिमिटर वर्षा भएको छ ।
पछिल्लो १२ घण्टामै बागलुङ, पर्वतमा २४ मिलिमिटर, प्यूठानमा २१.८ मिलिमिटर, सिन्धुपाल्चोकमा २९.६ मिलिमिटर वर्षा भएको छ । चितवनमा २३ र लमजुङमा २७ मिलिमिटर वर्षा भएको छ । हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ भने तल्लो भेगमा वर्षा भइरहेको विभागले जनाएको छ ।