प्राइम खबर संबाददाता | कात्तिक १७, २०८२ आइतबार

धनुषामा यात्रुवाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छ । अन्य दुईजना बालबालिका गम्भीर घाइते भएका छन् ।


विराटनगरबाट धनगढी जाँदै गरेको सु.प्र ०१-००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २-०१-००१ ह १२३० नम्बरको अटोलाई शनिबार साँझ ठक्कर दिएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।



प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं १ वीरेन्द्र बजारमा भएको सो दुर्घटनामा गणेशमान चारनाथ नगरपालिका-१ भरतपुरका अन्दाजी ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीया निशा मगर र अन्दाजी ४० वर्षीय अटो रिक्सा चालक डम्बर राईको मृत्यु भएको हो ।

दुर्घटनामा १४ वर्षका शीतल मगर र ९ वर्षका रोशन मगर गम्भीर घाइते छन् । उनीहरूको जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।