प्राइम खबर संबाददाता | कात्तिक १९, २०८२ मंगलबार

रौतहट। चन्द्रपुर नगरपालिकाको स्वास्थ्य शाखामा व्यापक लापरबाहीको अर्को अध्याय खुलेको छ। म्याद सकिएको औषधि बालबालिकालाई जापनिज इन्सेफ्लाइटिस (JE) खोप कार्यक्रमअन्तर्गत लगाउन तयारी भइरहेको अवस्थामा फेला परेपछि नगरभर यसको चर्को विरोध सुरु भएको छ।


चन्द्रपुर नगरपालिका स्वास्थ्य शाखाको चरम लापरवाहीको पराकाष्टा नाघेको पाइएको छ । म्याद सकिएको एक्सपाएर औषधि धमाधम लगाउन लागिएको पाइएपछि त्यसको रहस्य खुलेको हो । स्वास्थ्य शाखाका प्रमुख राजेश ठाकुरको लापरबाही र हेलचेक्राइको कारण नगर भरिका बालबालिकाको स्वास्थ्य गम्भीर असर पर्नेगरी जापनिज इन्सेफ्लाइटिसको खोप लगाउने तयारी रहेको बेला चन्द्रपुर नगरपालिकाको डूमरिया स्वास्थ्य चौकीमा म्याद नाघेको औषधि फेला परेको थियो ।



 वडा नं ९ अन्तर्गत डूमरिया स्वास्थ्य चौकीमा म्याद सकिएको औषधि भेटिएपछि यो विषय सतहमा आएको हो। फेला परेका ती औषधि JE खोप अभियानमा प्रयोग गर्न तयारीमा राखिएको पाइएको हो । यसले बालबालिकाको स्वास्थ्यमाथि गम्भीर जोखिम पर्ने निश्चित छ।

चन्द्रपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेश ठाकुरमाथि यसअघि समेत कमिसनका लागि म्याद नजिकिएको औषधि खरिद गर्ने गरेको आरोप लाग्दै आएको छ। तर यस पटक त तिनै औषधि सीधै जनस्वास्थ्यलाई नोक्सान पुर्‍याउने व्यवहारमा प्रयोग हुन लागेको आशंका बनेपछि स्थानीय आक्रोशित बनेका छन्।



स्थानीयवासीहरू भन्छन् “लापरबाहीले सीमाना नाघ्यो। अब त म्याद सकिएको औषधि नै बालबालिकालाई लगाउन लागेको अवस्था देखियो। यस्तो व्यक्ति जिम्मेवारीमा बस्नु नगरवासीको दुर्भाग्य हो।”

उनीहरू तत्काल स्वास्थ्य शाखा प्रमुख ठाकुरलाई जिम्मेवारीमुक्त गर्नुपर्ने माग सहितको माग सहित नगर प्रमुखलाई चेतावनी समेत दिइरहेका छन्।

नगर नेतृत्व मौन बसेको, ‘कानमा बतास नलागेको’ गुनासो एबम् विवाद बढ्दो क्रममा भएपनि नगरपालिका नेतृत्व भने यसबारे मौन देखिएको छ। नगर प्रमुखको ध्यानाकर्षण गराउँदा समेत बेवास्ता भएको चर्चा जनप्रतिनिधि र स्थानीयबीच फैलिएको छ। यसले नगर अभिभावकीय भूमिकाप्रति नै प्रश्न उठेको छ।

स्वास्थ्य क्षेत्रजस्तो संवेदनशील क्षेत्रमा यस्तो खालको चरम बेवास्ता हुँदै आएको छ । न त निगरानी व्यवस्था बलियो छ न त लापरवाहितर्फ जिम्मेवार निकायको तत्परता छ।



स्वास्थ्य विज्ञहरू भन्छन् “म्याद सकिएको औषधि लगाइएमा बालबालिकाको प्रतिरक्षा प्रणाली गम्भीर क्षतिग्रस्त हुन सक्छ, अन्य जटिल स्वास्थ्य समस्या उत्पन्न हुन सक्छ, र दीर्घकालीन जोखिम समेत रहन्छ।“

उता स्वास्थ्य शाखा प्रमुख ठाकुर भने यसबारेमा अनविज्ञ झै भएको बताउँदै यसको जिम्मेवार आफू नहुने भन्दै पन्छिन खोजेका छन्।

अब चन्द्रपुर नगरपालिका जनताको स्वास्थ्यसँग खेलिएको यो घटनालाई कसरी व्यवस्थापन गर्छ ? नगर नेतृत्वको उत्तरदायित्व यहीँबाट मापन हुनेछ । लापरवाही, कमिसन र दण्डहीनताको संस्कृति रोक्ने कि फेरी सामान्यजस्तै ढाकछोप गर्ने? प्रश्न पेचिलो बन्दै गएको छ।