न्यूज डेस्क | मंसिर ४, २०८२ बुधबार

नेकपा एमालेका नेता–कार्यकर्ता र जेन–जी पुस्ताका युवाबीच बाराको सिमरामा झडप भएको छ  । झडपका कारण सिमरास्थित विमानस्थलक्षेत्र तनावग्रस्त बनेको छ  । जेन–जी प्रदर्शनकारीले विमानस्थलको गेट भत्काइदिएका छन्  । स्थिति तनावग्रस्त बनेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी विजयराज पण्डितले जानकारी दिए  ।


नेकपा एमालेले बाराको परवानीपुरमा बुधबार मधेश प्रदेशस्तरीय युवा भेला आयोजना गरेको थियो  । कार्यक्रममा प्रमुख अतिथिका रूपमा एमाले महासचिव शंकर पोखरेल, एमाले पोलिट्ब्युरो सदस्य तथा युवा संघ इञ्चार्ज महेश बस्नेत सिमरा आउँदै थिए ।



युवा भेला आयोजना गरेको थाहा पाएपछि बाराका केही युवाले कार्यक्रम बिथोल्ने गरी जेनजीको प्रदर्शनका लागि आह्वान गरेका थिए । सोही कारण बुधबार बिहानैदेखि सिमरा क्षेत्रमा युवाहरू जम्मा हुँदै थिए ।

काठमाडौंबाट आउन लागेका पार्टी महासचिव लगायतका नेतालाई स्वागत गर्न एमाले बाराका नेताहरू पनि विमानस्थलतर्फ जाँदै गर्दा बाटोमा दुवै पक्षबीच वादविवाद भएको थियो  । त्यसक्रममा एमालेका एक नेताले एक युवालाई थप्पड हानेपछि स्थिति तनावग्रस्त बनेको स्थानीयले बताएका छन् ।