न्यूज डेस्क | मंसिर २५, २०८२ बुधबार
रौतहट, फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्ष्य गर्दै रौतहट क्षेत्र नम्बर ४ का लागि नेपाली कांग्रेसले बुधबार चन्द्रनिगाहपुरमा प्रारम्भिक छलफल सञ्चालन गर्यो। छलफलमा सहभागी अधिकांश नेता तथा कार्यकर्ताले क्षेत्रको उम्मेदवारका रूपमा देब प्रसाद तिमल्सिनालाई सर्वसम्मत एकल नाम सिफारिस गर्नुपर्ने सुझाव राखेका छन् । सुझाव सँगै उनी प्रमुख प्राथमिकतामा परेका हुन्।
कांग्रेस कार्यकर्ताहरूले तिमल्सिनालाई विगतका निर्वाचनमा मिलेको निरन्तर जनसमर्थन, लोकप्रियता र उनको जनमुखी छवि नै पार्टीको ठूलो बल रहेको बताए। विगतमा लगातार दुईपटक प्रतिनिधि सभा सदस्यमा विजयी बनेका तिमल्सिनालाई अधिकांशले “गरिब र भुइँमान्छेको नेता” को रूपमा परिचित रहेको उल्लेख गर्दै पुनः यसै नाममा जानु सुरक्षित र प्रभावकारी हुने धारणा व्यक्त गरे।
नेता तथा कार्यकर्ताहरूको तर्क छ—रौतहट–४ कांग्रेसले परम्परागत रूपमा जित्दै आएको क्षेत्र हो, त्यसैले संघीय निर्वाचनमा सो सीट गुमाउन नहुने मुख्य जिम्मेवारी पार्टी नेतृत्वले सम्हाल्नुपर्छ। तिमल्सिनाले आफ्नो दीर्घ राजनीतिक अनुभव, संगठनसँगको नजिकपन तथा विकासका एजेन्डा मार्फत क्षेत्र नम्बर ४ मा उल्लेखनीय काम गरेको भन्दै सहभागिहरूले अन्य विकल्पको खासै आवश्यकता नभएको निष्कर्ष निकालेका हुन्। यद्यपि तिमल्सिनाको अलावा अन्य स्थानीय नेताहरुको समेत नाम भेलामा उठेको बताइएको छ।
भेलामा सहभागी एक कांग्रेस नेताले भने, “कांग्रेसमा उनको तुलना हाल कसैसँग हुनै सक्दैन। संगठनदेखि जनतासम्म उनको पहुँच प्रष्ट छ, त्यसैले यो क्षेत्र सुरक्षित राख्न तिमल्सिना नै उपयुक्त नाम हो।”
चन्द्रनिगाहपुरमा भएको छलफललाई नेपाली कांग्रेस रौतहट–४ को अनौपचारिक सिफारिस प्रक्रियाको आधार मानिएको छ । अन्तिम निर्णयका लागि जिल्ला समिति र प्रदेश समितिमा छलफल अघि बढ्ने जनाएको छ ।
रौतहट–४ का अधिकांश कार्यकर्ता तिमल्सिनाको नेतृत्वमा पुनः चुनावी यात्रा अघि बढाउने पक्षमा देखिएको छ, जसले कांग्रेसभित्र उनलाई एकपटक फेरि प्रमुख दावेदारका रूपमा उभ्याएको छ। पूर्व सांसद समेत रहेका तिमल्सिनाले जनतामाझ लोकप्रिय छवि स्थापित गरेकै कारण उनले निर्वाचनमा विजय हासिल गरेको र उनको पल्ला भारी रहने चोक चौतारामा चर्चा परिचर्चा बढ्दो छ।