प्राइम खबर संबाददाता | मंसिर २७, २०८२ शुक्रबार
रौतहट, मधेश प्रदेश सरकारका प्रदेशसभा सदस्य नागेन्द्र प्रसाद साहले भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङको रौतहट अनुगमन “राजनीतिक स्ट्यान्डर्डबाजी बाहेक केही नभएको” कडा टिप्पणी गरेका छन्।
साहका अनुसार बडहर्वा- बागमती नदीको पुल निर्माण प्रक्रियालाई विभिन्न तहका निकायमा आफूले निरन्तर दौडधुप गर्दै अघि बढाइरहेको अवस्थामा मन्त्री घिसिङले अनुगमनको नाममा रौतहट आउनुलाई कुनै व्यवहारिक अर्थ छैन।
साहले भने, आजसम्म दर्जनौं मन्त्रीहरूले अनुगमन, निरीक्षण र फोटोसेशन गरेर फर्किसके। तर रौतहटबासीले पाएका भनेका अधूरा पुल, भत्किएका सडक र झन्झटिलो ओहोरदोहोर मात्रै हो। घिसिङ साँच्चिकै जनताको हितका लागि सोच्ने व्यक्ति हुन् भने फतुवा स्थित लालबकैया नदीमा नयाँ पुल निर्माणको घोषणा गर्नुपर्छ।
उनका अनुसार राजपुर नपा- १ फतुवाको साँघुरो बाटो हुँदै हुलाकी सडकमा पर्ने सो नदीमा पुल निर्माण अत्यावश्यक छ। त्यस्तै गौर-पिपरा सडकखण्डको झाझ नदीमा पुल निर्माणको माग वर्षौंदेखि उठ्दै आएको भन्दै उनले तत्काल ध्यानाकर्षण गराए।
सांसद साहले टिकुलिया र बडहर्वा क्षेत्रमा निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको पुलमा अनावश्यक अनुगमन गर्नुभन्दा अधुरो, उपेक्षित र जनजीवनसँग प्रत्यक्ष जोडिएका योजनामा प्राथमिकता दिन मन्त्री घिसिङलाई आग्रह गरे। उनले भने, टिकुलिया र बडहर्वा पुलमा त काम धमाधम भइरहेको छ। त्यहाँ फोटो खिच्न जाँदामात्र लोकप्रियता बढ्छ, तर वास्तविक समस्या समाधान हुँदैन।
रौतहटको दुर्गा भगवती गापा-५ बडहर्वा बागमती नदीमा, गौर नपा–४ टिकुलिया लालबकैया नदीमा तथा पिपरा बजारस्थित बागमती नदीमा पुल निर्माण वर्षौंदेखि अधुरै रहेको छ। बाढीका बेला जनताले काठे डुङ्गा प्रयोग गरेर जोखिमपूर्ण यात्रा गर्न बाध्य हुने अवस्था आज पनि यथावत छ। सदरमुकाम गौर, वीरगञ्ज वा सर्लाही जानका लागि प्रत्येक वर्ष जनताले ज्यान जोखिममा पारेर ओहोरदोहोर गर्नु परेको स्थानीयको गुनासो छ। रौतहटको दीर्घकालीन बेथिती, अधुरो पूर्वाधार र जनताको दैनिक कष्टबारे बुझाउन जेन-जी युवा समूहले हिजो वीरगञ्जमा मन्त्री घिसिङलाई भेटेर रौतहट अनुगमन गर्न अनुरोध गरेको युवा नेता बिक्रम यादवले बताए।
उक्त अनुरोधअनुसार मन्त्री घिसिङ आज रौतहट आउने कार्यक्रममा रहेका छन्। स्थानीयवासीले यसपालिको अनुगमन पुरानै फोटोसेशनको पुनरावृत्तिभन्दा फरक भई वास्तविक समस्याको समाधानतर्फ उन्मुख होस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।