प्राइम खबर संबाददाता | पुस ३, २०८२ बिहिबार
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पुस ४ गते शुक्रबार विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनका लागि आवश्यक व्यवस्था मिलाउन उनले प्रदेशसभा सचिवालयलाई आग्रह गरेका छन् ।
सात दलको समर्थनमा नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलको नेता यादव मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनी माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
गत कात्तिक २४ गते बिहान पाँच बजे बर्दिवासको एक होटलमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले संविधानको धारा १६८ को ३ बमोजिम नियुक्त हुँदा कांग्रेससहित सात दलीय गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमाथि सनुवाइ गर्दै सर्वोच्च अदालतले मंसिर १५ गते २४ घण्टाभित्र तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत लिन आदेश दिएको थियो ।
विश्वासको मत लिन नसके संविधानको धारा १६८ को उपधारा २ बमोजिम अर्को सरकार गठनका लागि परमादेश जारी गरेको थियो ।