प्राइम खबर संबाददाता | जेठ ८, २०७८ शनिबार

रौतहटमा वन गस्ती टोली र सिकारी समूहबीच दोहोरो झडप भएको छ । दोहोरो झडपपछि एकजना सिकारी समेत पक्राउ परेका छन् । डिभिजन वन कार्यालय रौतहटका अधिकृत अमरदेव यादवको कमान्डमा गतराती गएको वन गस्ती टोली र सिकारी समूहबीच जिल्लाको उत्तरी भेग भोलन्टार स्थित वनमा झडप भएको हो ।  
वन गस्ती टोलीसँग झडप भएलगत्तै ८ जनाको समूहमा रहेको सिकारी समूह तितरबितर भएर भागेको वन अधिकृत यादवले बताए । झडपलगत्तै  चन्द्रपुर ३ का सीताराम स्याङतान पक्राउ परेका छन् ।  वन क्षेत्रमा पछिल्लो केही दिनदेखि अवैध चोरी सिकारी बढेको सूचनाको आधारमा गस्ती जाँदा सो झडप भएको  यादवले बताए ।  जिल्लामा जारी निषेधाज्ञाको मौका पारी रौतहटको बिभिन्न क्षेत्रमा रहेका बनहरुमा अबैध चोरी,निकासी एबम् जंगली जनाबरहरुको शिकार गर्ने गिरोहहरु निकै सक्रिय भएर लागेको भएतापनि त्यसको नियन्त्रण गर्न सरोकारवाला निकायले त्यती ध्यान नदिएको स्थानियहरुको आरोप रहेको छ ।