न्यूज डेस्क | पुस ९, २०८२ बुधबार

प्रतिनिधिसभाको पुनस्र्थापना माग गर्दै ६८ सांसदले दायर गरेको पूरक रिटमा आज पेशी तोकिएको छ । नेपाली कांग्रेसका ६५ र अन्य दलका तीनसहित ६८ सांसदले पूरक रिट दायर गरेका हुन् ।
मङ्गलबार सर्वोच्च अदालतमा वारेसमार्फत पूरक रिट दर्ता भएको थियो । पूर्वसांसदहरूले पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई हस्ताक्षरसहितको वारेस दिएका थिए । यसअघि कांग्रेसका ८ सांसदहरुले मङ्सिर २३ गते रिट दर्ता गरेका थिए भने थप ६० सांसद पनि प्रतिनिधि सभा पुनःस्थापना माग्दै सर्वोच्च पुगेका हुन् ।


प्रतिनिधिसभा पुनस्र्थापनाका लागि कांग्रेसबाहेक अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले पनि हस्ताक्षर गरेका हुन् ।
३ पूर्वसांसद कांग्रेस संसदीय दलमा पुगेर हस्ताक्षर गरेका हुन् । हस्ताक्षर गर्नेमा जनता समाजवादी पार्टीकी हसिना खान, जनमत पार्टीकी गोमा लाभ सापकोटा र स्वतन्त्र सांसद योगेन्द्र मण्डल छन् ।
यसअघि नै नेकपा एमालेका ७५ सांसदहरूले प्रतिनिधिसभा पुनःस्थापना माग्दै सर्वोच्चमा हस्ताक्षर बुझाइसकेका छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १ सय ३८ सांसदको आवश्यक पर्छ । हस्ताक्षर बुझाउने सांसदको सङ्ख्या जोड्दा १ सय ४३ पुगेको छ ।