न्यूज डेस्क | पुस १०, २०८२ बिहिबार
रौतहट। शितलहर र बढदो चिसोका कारण रौतहटको गौर र फतुवा विजयपुर नगरपालिकाले विद्यालयहरुमा चार दिनको जाडो बिदा दिएको छ ।
रौतहटमा बिहान बाक्लो हुस्सु सँगै शित खस्ने र दिनभरी जसो कुहिरो लाग्न थाले पछि बालबालिका विद्यालय आउन समस्या उत्पन्न भएकोले रौतहटको गौर र फतुवा विजयपुर नगरपालिकाले विद्यालयहरुमा चार दिनको जाडो बिदा दिएको हो । गौर नगरपालिकाले आफ्नो क्षेत्रमा रहेका सबै सामुदायीक तथा संस्थागत विद्यालयहरुले वर्षे विदाबाट कट्टा हुने गरी पुष ८ गते देखी ११ गते सम्म पठनपाठनको कार्य बन्द गर्न गराउन सूचना जारी गरेको छ भने फतुवा विजयपुरले पौष ९ गते देखी ११ गते सम्मका लागी विद्यालय बन्द गराएको छ । चिसोका कारण विद्यालयमा विद्यार्थीको उपस्थीती न्यून भएको र पठन पाठनमा पनि समस्या आएपछि पालिकाका सबै विद्यालयहरु बन्द गरिएको गौर नगरपालिकाका नगरप्रमुख शम्भू साहले बताए । अत्याधिक चिसोले गर्दा शिशु कक्षा र प्राथमिक तहका विद्यार्थीहरुको स्वास्थ्यमा असर गर्न सक्ने भएकोले विद्यालय बन्द गरिएको नगरप्रमुख साहले बताए ।
कुहिरो र शित संगै चल्ने चिसो पश्चिमी हावाका कारण स्थानियको दैनिकि पनि सुस्त हुदै गएको छ । बजार तथा कार्यालयहरुमा सर्वसाधारणको उपस्थीति कमै मात्रै हुन थालेको छ । सधै जसो भिडभाड हुने सरकारी कार्यालयहरुमा पनि चिसोले गर्दा सेवाग्रहीहरुको संख्यामा कमी आएको छ । बिहानै खुल्ने व्यापारीक पसल र बजारहरु पनि ढिलो गरि खुलिरहेका छन । साझ पख पनि चिसो झनै बढ्ने गरेका कारण बजारहरु पनि समसाझै सुनसान हुन थालेका छन । चिसोबाट बच्न उच्च सतर्कता अपनाउन चिकित्सकहरुको सुझाब छ ।
नगरपलिकाको सूचना पछि गौर नगर प्याब्सनले पनि सबै नीजि विद्यालयहरुलाई चार दिन सम्म बन्द गर्ने जनाएको छ ।