प्राइम खबर संबाददाता | पुस १०, २०८२ बिहिबार
रौतहट। तराई क्षेत्रमा पछिल्लो समय लगातार बाक्लो कुहिरो र हुस्सु लागिरहँदा जाडो तथा सितलहर तीव्र बन्दै गएको छ। बढ्दो चिसोका कारण दैनिक जनजीवन कष्टकर बन्दै गएपछि डिभिजन वन कार्यालय रौतहटले चिसोबाट प्रभावित स्थानीयलाई लक्षित गर्दै दाउरा वितरण गरेको छ।
डिभिजन वन कार्यालय रौतहटले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलसँगको समन्वयमा चन्द्रनिगाहपुरका विभिन्न सार्वजनिक स्थल, बाटो, चोक र चौतारामा ताप्नका लागि दाउरा वितरण गरेको हो। अत्यधिक चिसोका कारण विशेष गरी बिहान र साँझको समयमा सर्वसाधारणलाई कठिनाइ भइरहेको अवस्थामा दाउरा वितरणले केही हदसम्म राहत मिल्ने विश्वास गरिएको छ।
डिभिजन वन कार्यालय रौतहटका अनुसार चन्द्रनिगाहपुर क्षेत्रमा चिसोबाट सबैभन्दा बढी प्रभावित हुने विपन्न, ज्येष्ठ नागरिक, मजदुर तथा सडकमा समय बिताउनुपर्ने नागरिकलाई लक्षित गरी सार्वजनिक स्थानहरूमा दाउरा उपलब्ध गराइएको हो। प्रहरीको सहकार्यमा दाउरा सुरक्षित रूपमा वितरण गरिएको जनाइएको छ।
यसैबीच, चन्द्रपुर नगरपालिका वडा नम्बर ७ स्थित वनबहुअरीमा रहेको मानव सेवा आश्रममा आश्रित व्यक्तिहरूका लागि पनि दाउरा वितरण गरिएको छ। डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त साहको सहयोगमा आश्रममा आश्रित असहाय तथा बेवारिसे व्यक्तिहरूलाई चिसोबाट जोगाउन दाउरा उपलब्ध गराइएको हो।
स्थानीयवासीहरूले डिभिजन वन कार्यालय र प्रहरीको संयुक्त पहलप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै चिसोको मौसमभर यस्ता राहत कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका छन्। कार्यालयले समेत मौसमको अवस्था हेरेर आवश्यक सहयोगलाई निरन्तरता दिने जनाएको छ।