न्यूज डेस्क | पुस १२, २०८२ शनिबार

रौतहट।  जिल्लाको कटहरिया नगरपालिका वडा नं. ९ स्थित ज्योती डिस्टिलरी उद्योगमा अचानक बोइलर विस्फोट हुँदा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् ।
शनिबार बिहानै भएको उक्त विस्फोटको आवाज निकै टाढासम्म सुनिएको स्थानीयवासीले बताएका छन् । घटनामा घाइते भएका पाँच जनामध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । गम्भीर घाइतेहरूलाई प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज लगिएको छ । मृतक तथा घाइतेहरूको पहिचान हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।


इलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी नायब निरीक्षक धर्मेन्द्र पौडेलको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक मुचुल्का, उद्धार तथा अनुसन्धान कार्य भइरहेको छ । प्रारम्भिक अनुसन्धान अनुसार बोइलर विस्फोटकै कारण दुर्घटना भएको आशंका गरिएको भए पनि वास्तविक कारण यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।



विस्फोटपछि उद्योग परिसर तथा आसपासको क्षेत्रमा त्रास फैलिएको छ । सम्भावित थप जोखिमलाई मध्यनजर गर्दै सुरक्षाकर्मीले घटनास्थलमा सुरक्षा व्यवस्था कडा बनाएका छन् । साथै, उद्योगको सञ्चालन, सुरक्षा मापदण्ड पालना तथा प्राविधिक पक्षबारे पनि अनुसन्धान अगाडि बढाइएको छ ।
 घटनासम्बन्धी थप विवरण र बिस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।