न्यूज डेस्क | पुस १४, २०८२ सोमबार

रौतहट। चमनपुर सुपर किंग्सले चन्द्रपुर मेयर कप लिग सीसीएल टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको उपाधि हात पारेको छ । चमनपुर सुपर किंग्सलेचन्द्रपुर–८  बेतौना स्थित कोटीहोम क्रिकेट मैदानमा आइतबार फाइनलमा देवीपुर रोयल्सलाई ६ विकेटले पराजित गरेको हो ।



चन्द्रपुर युवा क्लबको आयोजनामा भएको उक्त प्रतियोगितामा टस जितेर ब्याटिङमा आएको देवीपुर रोयल्सले सुरुको पावर प्लेमा खासै रन बनाउन सकेको थिएन। रोयल्सका ओपनर ब्याट्सम्यान मयन यादव र साहिल पटेलको जोडी खासै जम्न सकेनन् । मयन ७ बल खेलेर ६ रनमै विशाल पटेलको बलिङमा क्याच आउट भए । साहिलले २६ बल खेलेर ३९ रन जोडे  ।



अभिषेक रौनियारले १९ बल खेलेर अविजित १८ रन, कप्तान विशाल सुस्लिङ १७ बल खेलेर ११ रन, रियाज आलमले पनि १७ बल खेलेर ११ रन, दिनेश बोहरा १३ बल खेलेर ८ रन तथा रामचन्द्र धामीले ६ बलमा ५ रन र अर्जुन घर्तीले ५ बलमा ५ रन बनाएका थिए । देवीपुरले ६ विकेट गुमाई १ सय १२ रन बनाएको थियो । चमनपुर सुपर किंग्सका राजेश यादव र निर्मल गुरुङले २–२ तथा विशाल पटेल र रञ्जित कुमारले १–१ विकेट लिएका थिए ।

एमडी समीरले अविजित ३ चौका १ छक्का प्रहार गरेपछि चमनपुर सुपर किंग्सले १४.५ ओभरमै लक्ष्य पूरा गर्‍यो । एमडी समीरलाई अन्तिमसम्म क्रिजमा साथ दिँदै विशाल पटेलले १४ बल खेलेर अविजित २० रन बनाए । चमनपुर सुपर किंग्स पहिलो पटक विजेता बनेको हो ।  उपाधिसँगै चमनपुर सुपर किंग्सले ट्रफि सँगै ५ लाख नगद र उपविजेता देवीपुर रोयल्सले २ लाख नगद पाएको छ ।



देवीपुर रोयल्सका दिनेश बोहराले २ तथा रियाज आलम र रैयन आलमले १–१ विकेट लिएका थिए । ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिएका चमनपुर सुपर किंग्सका निर्मल गुरुङ प्लेयर अफ द म्याच बने । देवीपुर रोयल्सका अर्जुन घर्ती उत्कृष्ट ब्याटर, चमनपुर सुपर किंग्सका विशाल पटेल उत्कृष्ट बलर बने । प्लेयर अफ द टुर्नामेन्ट समनपुर बोल्ट्सका सुमित श्रेष्ठ भए । विजेता, तथा उपविजेता टीमलाई चन्द्रपुर नगरपालिकाका मेयर सञ्जय कुमार काफ्लेले ट्रफी, मेडल, नगद र प्रमाणपत्र प्रदान गरेका थिए । समापन समारोहमा बोल्दै मेयर काफ्लेले क्रिकेट क्षेत्रको बिकासका लागी आफू निरन्तर लागीरहेको र आगामी दिनहरुमा समेत क्रिकेट प्रतियोगिताका  गराउने कुरामा नगरपालिकाको पूर्ण साथ र सहयोग रहने प्रतिबध्ता जनाएका छन् ।