प्राइम खबर संबाददाता | पुस १४, २०८२ सोमबार
रौतहट । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) को तेस्रो स्थापना दिवसको अवसरमा रौतहट जिल्लाको चन्द्रनिगाहपुरस्थित तीनकुने चोकमा दीप प्रज्वलन कार्यक्रम गरी दिवस मनाइएको छ।
कार्यक्रममा पार्टीका केन्द्रीय तथा जिल्ला तहका नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। दीप प्रज्वलन गर्दै नेताहरूले आम जनता पार्टी स्थापनाको उद्देश्य, राजनीतिक यात्रा र आगामी कार्यदिशाबारे प्रकाश पारेका थिए।
स्थायी समिति सदस्य बालकृष्ण सापकोटाका अनुसार कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य सरोज कुमार बछार, केन्द्रीय सदस्यहरू किरण काफ्ले, राम आशिष साह, सन्दिप कुमार साह, चन्द्रिका साह, बिगु पासवान लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले मुलुकमा सुशासन, सामाजिक न्याय, समानता र जनताको अधिकार स्थापित गर्न आम जनता पार्टीले निरन्तर संघर्ष गर्दै आएको बताएका थिए। उनीहरूले पार्टीलाई जनताको भरोसाको राजनीतिक शक्तिको रूपमा स्थापित गर्न सबै कार्यकर्ता तथा समर्थकलाई एकजुट भएर अघि बढ्न आग्रह समेत गरे।
स्थानीय नेता तथा कार्यकर्ताको सहभागितामा सम्पन्न कार्यक्रममा पार्टीका झण्डा र नारासहित दीप प्रज्वलन गरिएको थियो। नेताहरूले आगामी दिनमा पार्टीको संगठन विस्तार गर्दै जनताको समस्या समाधानमा केन्द्रित राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
आम जनता पार्टीले देशभर विभिन्न कार्यक्रम आयोजना गरी आफ्नो तेस्रो स्थापना दिवस मनाइरहेको जनाएको छ। 