न्यूज डेस्क | पुस १६, २०८२ बुधबार

काठमाडौं । बाक्लो कुहिरो र हुस्सुका कारण नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक सतह चिप्लो हुँदा यातायात आवागमनमा कठिनाइ भएको छ । सडक विभागको आयोजना निर्देशनालयले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।


केही दिनदेखि लागेको बाक्लो कुहिरो र हुस्सुका कारणले निर्माणाधीन सडकमा समस्या देखिएको हो । सो सडकको केही स्थानमा कल्भर्ट तथा सडक ढलानको काम भई एकतर्फी सडक सञ्चालन भइरहेकोले सवारी साधन सञ्चालनमा थप कठिनाई हुने सम्भावना रहेको आयोजनाले जनाएको छ ।



मौसाममा सुधार नहुञ्जेलसम्म यस सडक खण्डमा यात्रा गर्नुअघि सडकको अवस्थाबारे सही तथा अद्यावधिक जानकारी प्राप्त गरी मात्रै यात्रा गर्न आयोजनाले अनुरोध छ ।

उक्त सडकखण्डमा यातायात सञ्चालनमा कुनै अवरोध उत्पन्न भएको अवस्थामा पूर्वपश्चिम राजमार्ग हुँदै आउने र जाने सवारी साधन नारायणघाट–मुग्लिङ–पोखरा–स्याङ्जा–पाल्पा हुँदै बुटवल जान सक्नेछन् ।



कालीगण्डकी चोक (गैंडाकोट) रामपुर पिपलडाँडा हुँदै जान यात्रा गर्न सकिने आयोजनाले बताएको छ । यस्तै काठमाडौंबाट बर्दघाट पश्चिम जानेर बुटवल–काठमाडौं जाने सवारी साधन काठमाडौं–मुग्लिङ–पोखरा हुँदै यात्रा गर्न सक्ने आयोजनाको भनाइ छ ।