न्यूज डेस्क | पुस १६, २०८२ बुधबार

राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य एवम् निवर्तमान सांसद डा. तोसिमा कार्कीले पार्टीभित्र प्राइमरी इलेक्सनको धज्जी उडाइएको टिप्पणी गरेकी छन् । प्राथमिक निर्वाचनमा अगाडि आएकाहरू समानुपातिक सूचीमा तल परेको टिप्पणी भइरहेका बेला डा. कार्कीले सामाजिक सञ्जालमा आफ्नो धारणा राखेकी हुन् ।


‘फेरि विरोधी भएजस्तो सुनिएला तर पार्टीको सचिवालय सदस्य र पदाधिकारीहरू भनेको सधै पोसिसन अफ बेनिफिटमा हुन्छन् । चाहे प्राइमरीको भोटिङमा होस् या इभालुएसनमा । पार्टीको महाधिवेशन नभएसम्मको अवस्थामा आजको दिनसम्म पदाधिकारी या सचिवालय दुबै निर्वाचनबाट बनेको होइन, पार्टीभित्र पनि पदमा बस्ने अनि निर्वाचनमा पनि समानुपातिक सूचीमा ! त्यो पनि प्राइमेरी भोटिङकै धज्जी उडाउँदै अग्रपङ्तिमा नाम सुरक्षित गरिने । यो प्रवृति पुराना दलभन्दा धेरै फरक देखिएन,’ उनले भनेकी छन् । पार्टीको प्रमुख पद होल्ड गर्नेहरूले प्रत्यक्ष चुनाव लड्नुपर्ने पनि उनको धारणा छ ।



‘अहिले त झन् पार्टी यति ठूलो भएको छ, साथीहरू किन डराउनुभएको ? कति असुरक्षित महसुस गर्नुभएको ? सचिवालय सदस्य र पदाधिकारीहरू नै चुनाव लड्न डराउनुभयो भने अरुले के गर्ने ? हामीले साँच्चिकै उदाहरणीय नेतृत्व गर्ने हो भने सबै पदाधिकारी तथा सचिवालय सदस्यहरूले आआफ्नो नाम समानुपातिकको सूचीबाट हटाएर प्रत्यक्ष चुनाव लड्ने हिम्मत गर्नुपर्छ । साथै समानुपातिकको सूचीमा आफन्तवाद र नातावादलाई पूर्ण रूपले निषेध गरिनुपर्छ,’ उनले भनेकी छन् ।