प्राइम खबर संबाददाता | पुस १६, २०८२ बुधबार
रौतहट । हिजो मंगलबार बिहान करिब साढे सात बजे ग्यास बोकेको बुलेट ट्रक पल्टिँदा अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्ड २४ घण्टापछि सुचारु भएको छ।
भारतबाट एलपी ग्यास बोकेर धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको क्रममा भारतीय नम्बर प्लेटको ग्यास बुलेट चन्द्रनिगाहपुर–निजगढ सडकखण्डमा पल्टिँदा राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको थियो। बुलेट ट्रक सडकको बीच भागमै पल्टिएपछि सवारी आवागमन ठप्प भएको थियो, जसका कारण लामो दूरीका सवारीसाधनसहित स्थानीय यात्रुहरूलाई समेत ठूलो सास्ती भएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरका अनुसार दुर्घटनाग्रस्त बुलेटमा रहेको ग्यास सुरक्षित रूपमा खाली गरिएपछि मात्र उद्धार कार्य अगाडि बढाइएको थियो। ग्यास चुहावट र सम्भावित विस्फोटको जोखिमलाई मध्यनजर गर्दै सुरक्षाका सबै मापदण्ड अपनाएर काम गरिएको उनले जानकारी दिए।
ग्यास पूर्ण रूपमा खाली गरिसकेपछि आधा दर्जन क्रेनको सहायताले पल्टिएको बुलेट ट्रकलाई सडकबाट हटाइएको थियो। लामो समय लागेको उद्धार तथा व्यवस्थापन कार्य पूरा भएपछि मात्र बुधबार बिहान सडक सुचारु हुन सकेको प्रहरीले जनाएको छ।
दुर्घटनामा बुलेट चालक भारतको कदोरा, जयनगर थाना निवासी ३५ वर्षीय पवन यादव सामान्य घाइते भएका छन्। उनलाई सामान्य चोटपटक लागेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
सडक अवरुद्ध हुँदा पूर्व–पश्चिम राजमार्ग प्रयोग गर्ने यात्रु तथा सवारी चालकहरू वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य भएका थिए। घटनापछि प्रहरी, ट्राफिक प्रहरी तथा स्थानीय प्रशासनको सक्रियतामा स्थिति नियन्त्रणमा लिइएको जनाइएको छ।