प्राइम खबर संबाददाता | पुस २१, २०८२ सोमबार

चन्द्रनिगाहपुरमा रहेको संकल्प साकोसको १८औँ स्थापना दिवस विविध कार्यक्रम गरी सम्पन्न भएको छ। 


संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ स्थापना दिवसको अवसरमा चन्द्रपुर ७ मा अवस्थित मानव सेवा आश्रममा आश्रित जीवन बिताइरहेकाहरुलाई सहयोग र कार्यालय परिसरमा सार्वजनिक खानेपानी धारा जडान र सहकारीमा आबद्ध जेष्ठ नागरिकहरुलाई औपचारिक कार्यक्रम आयोजना गरी सम्मान गरिएसँगै सम्पन्न भएको छ। सोमबार चन्द्रपुरस्थित गोल्डेन बैंक्वेटमा संकल्प साकोसको १८औँ स्थापना दिवस भव्यताका साथ सम्पन्न भएको हो । 



संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेड चन्द्रपुरका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष गणेश पौडेलले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।



स्थापना दिवसको अवसरमा संस्थाले ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मान गरेको थियो। सहकारीले ज्येष्ठ नागरिकप्रति सम्मान, कृतज्ञता र सामाजिक उत्तरदायित्वको भावनालाई निरन्तरता दिंदै उनीहरुको योगदानको कदरस्वरूप सम्मान कार्यक्रम आयोजना गरिएको जनाएको छ। 

कार्यक्रममा सहकारी अभियानको महत्व, सहकारीको भूमिकाले समाज र आर्थिक विकासमा पुर्‍याएको योगदानबारे समेत चर्चा गरिएको थियो।

संस्थाका अध्यक्ष पौडेलले संकल्प बचत तथा ऋण सहकारी संस्थाले स्थापना कालदेखि नै सदस्यहरूको आर्थिक सशक्तीकरण, बचत संस्कृतिको विकास तथा सहज ऋण प्रवाहमा निरन्तर काम गर्दै आएको उल्लेख गर्नुभयो।

उहाँले आगामी दिनमा अझै पारदर्शी, प्रभावकारी र सदस्य–केन्द्रित सेवा प्रदान गर्दै सहकारीलाई थप मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

स्थापना दिवसका अवसरमा आयोजित सम्मान, भेटघाट तथा अनुभव आदान–प्रदानले सहकारी सदस्यहरूबीच आपसी सम्बन्ध अझ सुदृढ भएको आयोजकको भनाइ छ।