न्यूज डेस्क | पुस २३, २०८२ बुधबार

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा प्रश्न मर्न नदिन विशेष महाधिवेशन गर्न लागेको बताएका छन् । काठमाडौंको नक्सालस्थित एक होटलमा बुधबार बुद्धिजीवीहरूसँग भएको छलफलमा उनले आफ्ना लागि पद गौण विषय भएको पनि बताए ।


‘कांग्रेसमा प्रश्न मर्न दिनु हुँदैन भनेर पनि विशेष महाधिवेशन गर्न लागेका हौं,’ महामन्त्री थापाले भने, ‘पद गौण हो ।’ उनले २७ पुसमा उद्घाटन हुन गइरहेको विशेष महाधिवेशनमा सहभागिताका लागि आमन्त्रण पनि गरे । ‘पुस २७ गते ११ बजे उद्घाटन हुन्छ । सबै जना आउनु होला,’ थापाले भने ।



यसअघि संस्थापन पक्षीय नेताहरूले विशेष महाधिवेशनका कारण पार्टी विभाजन हुने आशंका व्यक्त गरिहँदा उनले विष पिएर भए पनि पार्टीको एकता कायम राख्ने बताएका थिए ।



नेता डा. चन्द्र भण्डारी र डा. सुनील शर्मासँग बुधबार भएको संवादका क्रममा महामन्त्री थापाले भनेका थिए, ‘तपाईंहरूलाई साक्षी राखेर देशभरका कार्यकर्ता र शुभचिन्तकलाई आश्वस्त बनाउन चाहन्छु, पार्टी फुट्दैन । कसैले चाहेर पनि पार्टी फुट्दैन । साँच्चिकै अप्ठेरो अवस्था आयो भने त बरु विष पिउँछु नि म । बरु आफूले विष पिएर भए पनि यसको एकता जोगाइराख्नेछु ।’