प्राइम खबर संबाददाता | माघ १०, २०८२ शुक्रबार
रौतहटको चन्द्रनिगाहपुरस्थित जन ज्योति बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आयोजनामा विद्याकी देवी सरस्वतीको पूजा–अर्चना भव्य रूपमा सम्पन्न भएको छ।
श्रीपञ्चमीको पावन अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा क्याम्पस परिवार, विद्यार्थी तथा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो।
क्याम्पसका स्ववियु सभापति मो. नौसाद आलमले ज्ञान, शिक्षा र सद्बुद्धिको कामना गर्दै सरस्वती पूजा कार्यक्रम आयोजना गरिएको जानकारी दिए। उनले सरस्वती पूजाले शिक्षा क्षेत्रमा सकारात्मक सोच, आपसी सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे।
सभापति आलम स्वयंले विधिपूर्वक सरस्वती पूजा गर्दै सबै विद्यार्थीलाई अनुशासन, परिश्रम र सहकार्यको मार्गमा अघि बढ्न आग्रह गरेका थिए। उनले शिक्षा सबैका लागि साझा सम्पत्ति भएको उल्लेख गर्दै जात, धर्म र समुदायभन्दा माथि उठेर ज्ञानको सम्मान गर्नुपर्ने बताए।
उक्त अवसरमा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले सरस्वती वन्दना, भजन तथा सांस्कृतिक गतिविधि समेत प्रस्तुत गरेका थिए। कार्यक्रम शान्त, सभ्य र धार्मिक वातावरणमा सम्पन्न भएको सहभागीहरूले बताएका छन्।
स्ववियु सभापति आलमले सरस्वती पूजा गर्दै गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ती तस्बिरहरू भाइरल समेत बनेका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनको कार्यको प्रशंसा गर्दै धार्मिक सहिष्णुता, सद्भाव र सामाजिक एकताको उत्कृष्ट उदाहरण भएको प्रतिक्रिया दिएका छन्।
