न्यूज डेस्क | चैत १५, २०८२ आइतबार
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादव अचानक काठमाडौं फर्किएका छन्।
निर्वाचन समीक्षा कार्यक्रमका लागि सप्तरीको राजगढ गाउँपालिका–३, नर्घो पुगेका यादव गृहमन्त्री सुधन गुरुङले गौर हत्याकाण्डको फाइल खोल्न निर्देशन दिएको सूचना पाएलगत्तै सबै कार्यक्रम स्थगित गरी फर्किएको बुझिएको छ। उनी बुद्ध एअरको उडानमार्फत काठमाडौं आइपुगेका हुन्।
२०६३ चैत ७ गते रौतहटको गौरमा भएको हत्याकाण्डसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गत भदौ ३ गते गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, नेपाल प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयलाई अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको थियो।
पछिल्लो राजनीतिक परिवेशमा पुराना घटनासम्बन्धी अनुसन्धान पुनः सक्रिय बन्ने संकेत देखिएका छन्। यसअघि नै जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन् भने अन्य नेतामाथि पनि अनुसन्धान विस्तार हुन सक्ने चर्चा छ।
यादव गत निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ३ बाट पराजित भएका थिए। यता, गौर घटनासँग जोडिएका अन्य नेताहरूको भूमिकाबारे पनि चासो बढ्दै गएको छ।
यद्यपि, सम्भावित पक्राउ वा अनुसन्धानबारे सरकारी निकायबाट औपचारिक पुष्टि भने भइसकेको छैन।