न्यूज डेस्क | चैत १७, २०८२ मंगलबार
रौतहट- देशव्यापी रूपमा चर्चामा रहेको सम्पत्ति शुद्धीकरण अभियानको प्रभाव रौतहट जिल्लासम्म आइपुगेको छ। बालेन शाहको नेतृत्वमा अघि बढाइएको सरकारी ओहदामा रहेका तथा पूर्व पदाधिकारीहरूको सम्पत्ति छानबिन अभियानले देशभर नयाँ तरंग सिर्जना गरिरहेका बेला रौतहटका स्थानीयवासीहरूले पनि वर्षौंदेखि उठाउँदै आएका पूर्वमन्त्री प्रभु साहको सम्पत्ति छानबिनको माग अब सम्बोधन हुने अपेक्षा गरेका छन्।
पूर्वमन्त्री साहमाथि आफू सत्ता र सरकारमा रहँदा अकुत सम्पत्ति आर्जन गरेको, आफन्त तथा नातेदारका नाममा विभिन्न ट्रस्ट र प्रतिष्ठान स्थापना गरी सम्पत्ति लुकाएको, तथा ती संस्थाहरूलाई माध्यम बनाएर निजीकरण गरेको आरोप लाग्दै आएको छ। यस्तै, आफन्तका नाममा व्यापक रूपमा सम्पत्ति जोड्ने र अवैध आम्दानीलाई वैध देखाउन विभिन्न उपाय अपनाएको आरोपसमेत सार्वजनिक रूपमा उठ्दै आएको छ। केही स्रोतहरूले त कालोधन शुद्धीकरणकै उद्देश्यले राजनीतिक दल स्थापना गरेको आरोप समेत उनीमाथि लगाएका छन्।
स्थानीय स्रोतका अनुसार, साहसँग सम्बन्धित केही ट्रस्ट तथा प्रतिष्ठानहरूको आर्थिक गतिविधि र सम्पत्तिको स्रोतबारे विगतदेखि नै प्रश्न उठाइए पनि सत्ता र शक्तिको आडमा सम्बन्धित निकायबाट प्रभावकारी अनुसन्धान हुन सकेको थिएन। यसले गर्दा जनस्तरमा असन्तुष्टि बढ्दै गएको थियो।
यसैबीच, केही दिनअघि सांसद रविन्द्र पटेलले एक सञ्चार माध्यमलाई दिएको अन्तर्वार्तामा साहको सम्पत्ति आर्जनबारे गम्भीर प्रश्न उठाएका थिए। उनले साहको सम्पत्तिको स्रोत, विस्तार र वैधानिकताबारे गहिरो अनुसन्धान आवश्यक रहेको बताएका थिए। उनको अभिव्यक्ति पछि यो विषय पुनः सार्वजनिक बहसको केन्द्रमा आएको हो।
उता जिल्लामा साह पक्राउ पर्न सक्ने हल्ला तीव्र रूपमा फैलिन थालेपछि उनी एक्कासी काठमाडौं पुगेको बताइएको छ। यस क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेको विषयलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ। लामिछानेसँगको उक्त भेटले राजनीतिक वृत्तमा थप चर्चा उत्पन्न गरेको छ।
निर्वाचन अघिदेखि नै विशेषतः लामिछाने र बालेन शाहको कट्टर बिरोधि र आलोचक रहँदै आएका पूर्वमन्त्री साहले सरकारले सुरु गरेको सम्पत्ति शुद्धीकरण अभियानकै क्रममा यस्तो भेट गर्नुले विभिन्न अड्कलबाजीहरू जन्माएको छ। कतिपयले उनलाई आफूविरुद्ध बढ्दो अनुसन्धानको सम्भावनाबाट बच्न हतारिएको कदमका रूपमा समेत व्याख्या गरेका छन्।
मंगलबार साहले लामिछानेलाई भेटेपछि आफ्ना कार्यकर्तामार्फत उक्त भेटको तस्बिर सार्वजनिक गराएका थिए। यस घटनाले रौतहट मात्र नभई राष्ट्रिय राजनीतिमा समेत नयाँ तरंग सिर्जना गरेको छ। अब सम्बन्धित निकायले अनुसन्धानको रडारमा रहेका उनीमाथी यस विषयमा कस्तो कदम चाल्छ भन्नेमा सबैको चासो केन्द्रित भएको छ।