न्यूज डेस्क | चैत २०, २०८२ शुक्रबार

रौतहटको सदरमुकाम गौरस्थित मालपोत कार्यालयमा सेवाग्राहीलाई अनावश्यक दुःख दिने र ठगी गर्ने कार्यमा संलग्न चार जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जग्गा पास, बिक्री वा अन्य प्रशासनिक कामका लागि कार्यालय आउने सेवाग्राहीलाई छिटो काम गराइदिन्छु भन्दै प्रलोभनमा पारी रकम असुल्ने गरेको अभियोगमा उनीहरू पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको विशेष टोलीले उनीहरूलाई कार्यालय परिसर र आसपासको क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
मालपोत कार्यालय वरपर लामो समयदेखि सक्रिय बिचौलियाहरूले सर्वसाधारणलाई अनावश्यक झन्झट दिने र ठग्ने गरेको व्यापक गुनासो आएपछि प्रहरी सक्रिय बनेको हो। पक्राउ परेका व्यक्तिहरूलाई हाल जिल्ला प्रहरी कार्यालय गौरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।