न्यूज डेस्क | चैत २१, २०८२ शनिबार

रौतहट — रौतहट जिल्लाको वृन्दावन नगरपालिकामा आगामी स्थानीय तह निर्वाचनलाई लिएर चर्चापरिचर्चा बिस्तारै बढ्दै जाँदा युवा पुस्ताबाट नेतृत्वको माग पनि सशक्त रूपमा उठ्न थालेको छ। यही सन्दर्भमा वृन्दावनका युवा नेता निरज कुमार यादवको नाम यतिबेला व्यापक रूपमा चर्चा र परिचर्चामा आएको छ।


स्थानीय चिया पसलदेखि गाउँ–टोलका चौतारासम्म अहिले निरजकुमार यादवको सम्भावित उम्मेदवारीबारे बहस हुन थालेको छ। विशेषगरी युवा पुस्ताले उनलाई वृन्दावन नगरपालिकाको नगर प्रमुख (मेयर) का लागि सक्षम, ऊर्जावान र दूरदर्शी उम्मेदवारका रूपमा अगाडि सार्न थालेका छन्।



निरजकुमार यादव केही समयसम्म संयुक्त राज्य अमेरिकामा बसोबास गरी हालै मात्र स्वदेश फर्किएका हुन्। उनि अमेरिकामा अध्ययनका लागि पुगेका हुन् ।  विदेश बसाइका क्रममा उनले आधुनिक व्यवस्थापन, विकासका मोडल र सामाजिक नेतृत्वका अनुभव हासिल गरेको स्थानीयहरू बताउँछन्। यही अनुभवलाई उनले आफ्नै नगरको विकासमा प्रयोग गर्न सक्ने अपेक्षा समेत गरिएको छ।



उनको राजनीतिक सक्रियता भने हालै सम्पन्न संघीय संसदीय निर्वाचनदेखि अझ बढी देखिन थालेको हो। सो निर्वाचनमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेल लाई जिताउन सक्रिय भूमिका खेलेका थिए। विशेषगरी युवाहरूमाझ संगठन निर्माण, जनचेतना अभिवृद्धि तथा मतदातालाई आकर्षित गर्ने कार्यमा उनले उल्लेखनीय योगदान दिएका थिए।

वृन्दावन नगरपालिकाभित्र रास्वपाको जनाधार विस्तार गर्न उनले खेलेको भूमिकालाई पार्टीभित्र र बाहिर दुवै स्थानमा सकारात्मक रूपमा हेरिएको छ। यही कारणले गर्दा उनलाई आगामी स्थानीय तह निर्वाचनमा रास्वपाबाट नगर प्रमुख पदका लागि सम्भावित उम्मेदवारका रूपमा पनि हेर्न थालिएको छ।

स्थानीय युवा अगुवाहरूका अनुसार अबको नेतृत्व पुरानो शैलीबाट होइन, नयाँ सोच र ऊर्जाबाट अघि बढ्नुपर्ने आवश्यकता छ। यस्तो अवस्थामा निरजकुमार यादवजस्ता शिक्षित, अन्तर्राष्ट्रिय अनुभव भएका र स्थानीय स्तरमै सक्रिय युवा नेताले नगरको विकासमा नयाँ दिशा दिन सक्ने विश्वास व्यक्त गरिएको छ।

यद्यपि, आधिकारिक रूपमा उम्मेदवारी घोषणा भइसकेको छैन। तर, बढ्दो जनचासो र समर्थनका कारण निरज कुमार यादवको राजनीतिक भविष्य वृन्दावनमा चासोको विषय बनेको छ। आगामी दिनमा उनले औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्ने वा नगर्ने भन्ने कुराले स्थानीय राजनीतिक समीकरणमा समेत ठूलो प्रभाव पार्ने देखिन्छ। संघिय सांसदमा रास्वपाले प्रचण्ड बहुमत प्राप्त गरेसंगै आगामी स्थानिय तहको निर्बाचनलाई लिएर बिभिन्न अड्कलबाजी सुरु भएको छ ।

समग्रमा, वृन्दावन नगरपालिकामा अबको चुनाव केवल राजनीतिक प्रतिस्पर्धा मात्र नभई पुस्तान्तरणको बहस पनि बन्ने संकेत देखिएको छ, जसको केन्द्रमा अहिले युवा नेता निरजकुमार यादव रहेका छन्।