न्यूज डेस्क | चैत २५, २०८२ बुधबार
तुइन प्रतिस्थापन गर्ने भन्दै दार्चुला पुगेका हर्कराज राई (साम्पाङ)ले झोलुङ्गे पुलको शिलान्यास गरेका छन् । व्यास गाउँपालिका-२ दुम्लिङमा पुलको शिलान्यास गरेका हुन् ।
हर्कले दुम्लिङको घट्टे खोलाको काठे पुललाई श्रमदान मार्फत् झोलुङ्गे पुल बनाउन औपचारिक रूपमा सुरुवात गरेका छन् । उनलाई स्थानीयबासीले बागागाजासहित स्वागत गरेका थिए ।
पुलको शिलान्यासपछि हर्कले सम्बोधन गर्दै आफूले तुइन विस्थापनको सपना तीन वर्षअघि नै देखेको बताए । तीन वर्षअघि एक नानी तुइन तर्दै गरेको भिडिओ देखेपछि आफूलाई साह्रै नमज्जा लागेको बताए । नानीलाई देखेपछि आफूले दार्चुलामा पुल बनाउने सपना दखेको र त्यो अहिले पूरा भएको बताए ।
‘त्यो तुइन भएको ठाउँ चाहिँ महाकालीमा रहेछ । जसमा भारतको पनि अनुमति लिनुपर्ने कुरा आएको छ । त्यसमा मैले के पहल गर्नुपर्ने, गर्छु । त्यसका लागि म पहल गर्छु,’ हर्कले भने, ‘कोही पनि महाकालीमा झरेर अकालमा मर्नु नपरोस् । हामी यहाँ राजनीति गर्न, पार्टी विस्तार गर्न पनि आएका होइनौं । कोही मान्छे दुःखमा थियो, मैले सहयोग गर्नुपर्छ भनेर पाइला चालेको मात्र हो । श्रमदानमार्फत् गर्न लागिरहेका छौं । यहाँ सरकारको एक पैसा खर्च हुने छैन ।’
अब काम सुरू भइसकेकाले सबै स्थानीयलाई सहयोग गर्न समेत हर्कले आह्वान गरे । महाकालीको तुइनलाई पुलमा प्रतिस्थापन गर्ने भनेर चन्दा उठाउन सुरू गरेका हर्कले अब त्यो चन्दा रकम घट्टे खोलाको झोलुङ्गे पुलमा लगाउने भएका छन् ।